निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत, तीन दिन बिदाको सिफारिस
काठमाडौं । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले निर्वाचनका लागि अहिलेसम्म कुनै सुरक्षा चुनौती नदेखिएको निष्कर्ष निकालेको छ । निर्वाचन आयोगमा मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत रहेको र कुनै चुनौती नदेखिएको निष्कर्ष निकालेको हो । बैठकमा सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनका लागि मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारे ब्रिफिङ गरेका थिए ।
बैठकमा निर्वाचनका लागि आउनसक्ने सुरक्षा चुनौती र त्यसलाई उचित समाधान गर्ने बिषयमा छलफल भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनका लागि शान्ति सुरक्षा मजबुद रहेको र राजनीतिक दलहरुले आफ्नो शान्तिपूर्ण रुपमा गतिविधि गर्नका लागि मतदाताले निर्भयपूर्वक आफ्नो मतदान गर्नका लागि अनुकुल वातावरण रहेको जानकारी गराएको प्रवक्ता भट्टराईले बताए ।
उनले केहि स्थानमा भएका घटनामा स्थानीय प्रशासनको क्रियाशीलताले कुनै अप्रिय घटना हुन नपाएको र सवैतिरको माहोल निर्वाचनमय हुँदै गएको उल्लेख गरे । प्रवक्ता भट्टराईले मतदानका लागि सहज रुपमा घर जान र फर्कनका लागि आयोगले तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको र यसबाट मतदानमा सक्रियतापूर्वक सहभागिता हुने विश्वास रहेको बताए ।
