धादिङ बस दुर्घटना : मृत्यु हुनेको संख्या १८
काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको रात्रीबस आज बिहान करिब १ः३० बजे पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका( ५ चरौंदी नजिक त्रिशूली नदी किनारमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी थप उपचारका लागि काठमाडौ पठाइएको छ ।
मृतकहरुमा ४ जना महिला रहेका छन् । सडकबाट करिब ८० मिटर तल खसेको सो बसमा दुर्घटनाको बखत कम्तीमा ४५ जना यात्रुहरु रहेको अनुमान छ । हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २४ जनालाई उद्रद्धा गरेर विभिन्न अस्पताल लगिएको उनले जानकारी दिए । मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।
उक्त स्थानमा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमाण्डमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको उनले जानकारी दिए ।
