गौर सदरमुकाममा बिहान ८ः३० बजेपछि पुनः कर्फ्यु
काठमाडौं । रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीचको विवादपछि उत्पन्न तनावलाई नियन्त्रण गर्न लगाइएको कर्फ्यु आइतबार बिहान केही समयका लागि खुकुलो पारिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलताको विश्लेषण गर्दै स्थानीयलाई दैनिक उपभोग्य वस्तु खरिद र अत्यावश्यक कामका लागि सहज होस् भनेर यस्तो निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचनाअनुसार, आइतबार बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म दुई घण्टाका लागि कर्फ्यु खुकुलो पारिएको छ। तर, बिहान ८:३० बजेपछि भने अर्को आदेश नभएसम्मका लागि कर्फ्यु पुनः यथावत रहने प्रशासनले स्पष्ट पारेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा कर्फ्यु आदेश लागू गरिएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको यस आदेशको उल्लंघन गरेमा सुरक्षाकर्मीले कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
प्रशासनका अनुसार बिहान ८:३० पछि घरबाहिर निस्कन, हिँडडुल गर्न र सवारी साधन चलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।
कर्फ्यु प्रभावित क्षेत्रमा कुनै पनि प्रकारको सभा, जुलुस, घेराउ वा प्रदर्शन गर्न पाइने छैन। एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीका सवारी साधनलगायत अत्यावश्यक सेवा सञ्चालनमा भने कुनै अवरोध हुने छैन।
गौरको सवगढामा दुई पक्षबीचको झडपका कारण स्थिति तनावपूर्ण बनेपछि शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले शुक्रबारदेखि नै कडा कदम चालेको हो। प्रशासनले सबै नागरिकलाई शान्ति सुव्यवस्था कायम राख्न र सरकारी आदेशको पूर्ण पालना गर्न अपिलसमेत गरेको छ।
