इरानमाथि सैन्य हमला गर्ने मुडमा ट्रम्प, रुस र चीनसँग इरानको सहकार्य
काठमाडौं । अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० दिने अल्टिमेटमसहित इरानमा सैन्य आक्रमणको चेतावनी दिएपछि रुस र चीनले संयुक्त सैन्य अभ्यास भन्दै स्टेट अफ हर्मुजमा आफ्ना नौसैनिक जहाज पठाएका छन् । यस्तो स्थितिले क्षेत्रीय शान्ति मात्रै नभई विश्वमा युद्धको खतरा त बढ्दैन भन्ने चासो बढाइदिएको छ।
इरानले आणविक शक्तिमा गरिरहेको लगानीका कारण अमेरिका र इजरायलले शक्ति प्रदर्शन गरेरै नि:स्तेज पार्ने योजना बनाइरहेका छन्। इरानले आफ्नो आणविक कार्यक्रम शान्ति र ऊर्जाका निम्ति भएको दाबी गरेपनि अमेरिका–इजरायलले यसलाई विश्वास गर्न सकेका छैनन् । जसकारण अमेरिका इरानको तनाव उत्कर्षमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको आणविक वार्ताको नतिजा अबको १० दिनभित्रमा तय हुने भन्दै दबाबका साथै चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले आणविक कार्यक्रम बन्द नगरे सैन्य हमलाको चेतावनी दिँदै आएका छन् । तर, विभिन्न क्षेत्रमा भएको वार्ताले प्रतिफल दिने संकेत नदेखिएपछि अमेरिकाले अरब सागरमा आफ्ना प्रविधिले सुसज्जित जहाजलाई तयारी अवस्थामा राखिरहेको देखिन्छ ।
यसले पनि अमेरिकाले इरानले वार्तामा आएर सहमति जनाउन नमानेमा आगामी १० दिनमा सैन्य हमला गर्ने प्रष्ट संकेत दिएका छन् । यसरी दुई देशबीच विवाद चलिरहेको बेला इरानले भने रुस र चीनसंगको सहकार्यलाई थप तीब्रता दिइरहेको छ । रुस–चीनले स्टेट अफ हर्मुजमा आफ्ना जहाजलाई तैनाथ गर्ने र संयुक्त सैन्य अभ्यास गर्ने भनिरहेका छन् ।
इरानले बिहीबारदेखि नै रुससँग सैन्य युद्धाभ्यास गरिरहेको छ । यो युद्धाभ्यास अमेरिकी विमानवाहक पोत पश्चिम एसियानजिक पुगेको समयमा भएको हो । अमेरिका र इरान दुवैले तेहरानको परमाणु कार्यक्रममाथिको वार्ता विफल भए उनीहरू युद्धका लागि तयार छन् भन्ने संकेत दिएका छन् ।
