निर्वाचन प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोगमाथि रोक

काठमाडौं ।  सरकारले निर्वाचन प्रचारमा जाँदा उम्मेदवारहरुले छत खोलेर हिँड्न मिल्ने ‘रुफटप भेहिकल’ प्रयोगमा रोक लगाउने भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकले उम्मेदवारहरुको सुरक्षालाई ध्यान दिएर त्यस्ता गाडी प्रयोगमा रोक लगाउने निर्णय गरेको हो । अहिले देशभर छत खुल्ला भएको गाडीबाट उम्मेदवारहरुले भोट माग्ने प्रचलन बढ्दो छ ।

सोही बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुरक्षाको सम्पूर्ण तयारी पुरा भइसकेकाले सम्पूर्ण मतदाताहरूलाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आव्हान गरेका छन् ।

उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सुरक्षा अङ्गहरूले चुस्त र भरपर्दो प्रबन्ध मिलाएको स्पष्ट पारे । सबै सम्बद्ध निकायहरूको प्रभावकारी समन्वय र सहयोगले नै निर्वाचन तोकिएकै समयमा सफल हुनेमा उनले पूर्ण विश्वास व्यक्त गरे ।

सोही बैठकमा नेपालका तीनवटै सुरक्षा अङ्गका प्रमुखहरू र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले निर्वाचन सुरक्षाका लागि तयार पारिएका रणनीतिक योजनाहरू क्रमिक रूपमा कार्यान्वयनको चरणमा रहेको जानकारी गराएका थिए । गृहमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको प्रभावकारी परिचालन र निर्वाचनको समग्र तयारीका विषयमा गहन र विस्तृत छलफल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर