किन पक्राउ परे किन छुटे राजकुमार एन्ड्रयू

काठमाडौं । सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य (मिसकन्डक्ट) गरेको आशंकामा बेलायती राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टब्याटन-विन्डसर प्रहरी नियन्त्रणमा पुगेका छन् । लण्डनस्थित थेम्स भ्याली प्रहरीले ६६ वर्षीय एन्ड्रयूलाई बिहीबार नियन्त्रणमा लिएर दिनभर सोधपुछ गरेपछि मुक्त गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, प्रहरी कार्यालयबाट बाहिरिने क्रममा पूर्वराजकुमार एन्ड्रयू निकै थकित र भावुक मुद्रामा देखिएका थिए । सन् २०१० मा बालिकाहरूलाई यौन शोषण र वेश्यावृत्तिमा संलग्न गराएको अभियोगमा दोषी ठहरिएका अमेरिकी अपराधी जेफ्री एप्स्टिनसँग एन्ड्रयूको सम्बन्ध रहेको विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ । एप्स्टिनलाई संवेदनशील व्यापारिक प्रतिवेदनहरू उपलब्ध गराएको भनी परेको उजुरीका आधारमा उनीमाथि अहिले कानुनी घेरा कसिलो बनेको हो ।

बेलायती कानुनी गोपनीयताका कारण प्रहरीले पक्राउ परेका व्यक्तिको नाम आधिकारिक रूपमा सार्वजनिक नगरे पनि ६० वर्षभन्दा माथिका एक व्यक्तिलाई नियन्त्रणमा लिइएको पुष्टि गरेको छ । सो उमेर र घटनाको प्रकृतिले ती व्यक्ति एन्ड्रयू नै भएको प्रष्ट भएको छ ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक पदमा रहँदा गरिएको भनिएको दूराचारको गम्भीर आरोपमाथि अहिले विस्तृत अनुसन्धान सुरु गरिएको छ । यस प्रक्रियाको निष्पक्षता र अखण्डता जोगाउन हामी प्रतिबद्ध छौँ ।’ प्रहरीले यस मामिलामा अन्य साझेदार निकायहरूसँग मिलेर तथ्यहरूको मूल्यांकन भइरहेको र उचित समयमा थप जानकारी गराउने बताएको छ ।

यसअघि अमेरिकामा एप्स्टिन प्रकरणसँग सम्बन्धित लाखौँ पृष्ठका गोप्य दस्ताबेजहरू सार्वजनिक भएसँगै राजकुमार एन्ड्रयू पुनः विवादको केन्द्रमा तानिएका थिए । बेलायती प्रहरीले यस प्रकरणमा जनचासो उच्च रहेको स्वीकार गर्दै अनुसन्धानलाई तीव्रता दिएको छ । पदीय दुरुपयोगको यो आरोप पुष्टि भएमा यसले बेलायती राजपरिवारको छविलाई थप धक्का पुर्‍याउन सक्ने विश्लेषण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर