आत्मसमीक्षा गर्ने बेला आएको छ : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको औँल्याएका छन् ।

पूर्वराजा शाहले भनेका छन्, “विगतमा भएका आन्दोलन र सङ्घर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको छ । अधिकार मात्र खोज्ने, तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाउँदै गएको अवस्था छ । त्यसैले सबैले गम्भीर भएर सोच्नुपर्छ ।” एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा पूर्वराजा शाहको जोड छ ।

उनले भनेका छन्, ‘कुनै व्यवस्थाको राम्रा र असल पक्षहरू टिप्नु र राख्नुपर्छ । जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरू हुन्छन्, त्यस्तालाई फाल्नु र फ्याँक्नुपर्छ ।’ देशको भू–बनोट र समाजको प्रकृति सुहाउँदो व्यवस्थाले मात्र सकारात्मक परिणाम दिने उनको जिकिर छ ।

प्रजातन्त्रमा आवधिक निर्वाचन स्वाभाविक भए पनि वर्तमान अवस्थामा चुनावको औचित्यमाथि उनले प्रश्न उठाएका छन् । यतिबेलाको आम जनभावना चुनावभन्दा पहिले देशको संकट समाधानतर्फ केन्द्रित हुनुपर्ने रहेको उनले औंल्याए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर