जिल्ला–जिल्लामा निर्वाचन सामग्री : ढुक्कसँग मतदानको तयारीमा रहन आग्रह

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण निर्वाचन सामग्री जिल्ला–जिल्लामा पुर्‍याइएको छ । सुगम र दुर्गम सबै जिल्लामा मतपत्र, नमूना मतपत्र, मतपेटिका, लाहछापलगायतका सम्पूर्ण सामग्री आज सबै जिल्लामा पुगिसकेको आयोगले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले आफैँ खरिद गर्नुपर्ने ३७ प्रकारका सामग्रीको व्यवस्थासमेत भइसकेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले ढुक्कसँग मतदानको तयारीमा रहन मतदाताहरुलाई आग्रह पनि गरेको छ ।

सेनाले गर्नेछ कर्णालीका ९ कारागारसँगै ६ विमानस्थलको सुरक्षा

यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कर्णाली प्रदेशका कारागारदेखि विमानस्थलसम्मको सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ । निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो संख्या खटिने भएपछि कारागारदेखि विमानस्थलसम्मको सुरक्षा जिम्मेवारी नेपाली सेनाले पाएको हो ।

निर्वाचन अवधिमा कर्णालीका विमानस्थल, कारागारसँगै महत्वपूर्ण सार्वजनिक प्रतिष्ठानहरुको सुरक्षा जिम्मेवारी नेपाली सेनाले पाएको उत्तरपश्चिम पृतनापति दिपेशजङ्ग शाहले जानकारी दिनु भयो । उहाँले कर्णालीका ६ वटा विमानस्थलसँगै ९ वटा कारागारको सुरक्षामा नेपाली सेना परिचालन भएको बताउनुभयो ।

उहाँका अनुसार सुर्खेत विमानस्थल, जुम्ला विमानस्थल, हुम्लाको सिमकोट विमानस्थल, मुगुको ताल्चा विमानस्थल, डोल्पाको जुफाल विमानस्थल र रुकुम पश्चिमको सल्ले विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई प्रदान गरिएको छ । त्यस्तै सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुमपश्चिम, डोल्पा, जुम्ला, हुम्ला र कालिकोट स्थित कारागारको सुरक्षा जिम्मेवारी नेपाली सेनाले पाएको छ ।

विशेष परिस्थितिमा यसअघिका निर्वाचनमा पनि यस्ता प्रतिष्ठानको सुरक्षा नेपाली सेनाले गर्दै आएको उहाँले जानकारी दिनु भयो । उहाँले ‘एकीकृत सुरक्षा योजना, २०८२’ अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले प्रदेश राजधानी सुर्खेतसहित कर्णाली प्रदेशका दश वटै जिल्लामा निर्वाचन सुरक्षा सतर्कता बढाएको बताउनु भयो । प्रदेशका सम्वेदनशील क्षेत्र तथा मतदानस्थलहरुको अवस्था हेरेर संयुक्त गस्ती अभियान रणनीति समेत अवलम्वन गरिएको उहाँको भनाइ छ ।

सेनाको हवाई गस्ती

निर्वाचनको अवधिमा सेनाले हवाई गस्ती समेत गर्ने भएको छ ।विकट ठाउँहरु तथा अतिसंवेदनशील क्षेत्रहरुमा सेनाले हवाई गस्ती गर्नेगरी सुरक्षा व्यवस्था मिलाईएको उत्तरपश्चिम पृतनापति दिपेशजङ्ग शाहले जानकारी दिनु भयो । उहाँले सुर्खेत विमानस्थलमा स्ट्याण्डबाई हेलिकप्टरको व्यवस्था मिलाइएको बताउनु भयो । उहाँले कर्णालीमा कुनैपनि विकट क्षेत्रमा केही भइहालेमा तुरुन्तै जानुपर्ने अवस्थामा हेलिकप्टरमार्फत सेना तत्कालै फिल्डमा पुग्ने जनाउनु भयो ।

बम डिस्पोजल टोली

निर्वाचन भाड्न खोज्ने समूहले बमलगायत बिस्फोटक पदार्थहरु राख्नसक्ने, तर्साउने खोज्ने जस्ता कामहरु हुने भएकाले त्यस्ता वस्तुहरु डिस्पोज गर्न बम डिस्पोजल टोली पनि तैनाथ गरिएको छ । त्यसका लागि अति संवेदनशील मतदानस्थलहरु भनिएका ठाउँहरुलाई केन्द्रीत गरेर बम डिस्पोजल टोली पनि तैनाथ पारिएको उत्तरपश्चिम पृतनापति शाहले जानकारी दिनु भयो ।

सेनाको मोटरसाईकल गस्ती

निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली सेनाको टोलीले पैदल, मोटरसाइकल र गाडीमा गस्ती शुरु गरेको छ । निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले नेपाली सेनाले मोटरसाइकल गस्ती समेत सुरु गरेको हो ।

सडकमा नेपाली सेनाको गस्ती देखा पर्न थालेपछि मतदाता तथा सर्वसाधारणमा पनि आत्मविश्वास बढेको देखिन्छ । तीनै सुरक्षा निकायले संयुक्त तथा एक्लाएक्लै गस्ती थालेपछि कर्णालीमा चुनावको माहोल उत्सवमय बनेको छ ।

४४१ मतदान केन्द्र अति संवेदनशील

कर्णालीमा सुरक्षाका दृष्टिले सामान्य, संवेदनशील र अति संवेदनशील भनेर तीन भागमा छुट्याइएको छ । कर्णाली प्रदेश प्रहरीका अनुसार प्रदेशका ४ सय ४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ ।

प्रदेशका १ हजार ४ सय ३७ मतदान केन्द्र मध्ये ३ सय १ सामान्य र ६ सय ५१ संवेदनशील सूचीमा राखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (एसएसपी) रामप्रकाश शाहले जानकारी दिनु भयो ।

उहाँका अनुसार निर्वाचनमा प्रदेशभर १४ हजार ७ सय १९ जना प्रहरी परिचालन गर्ने तयारी भइरहेको छ । उनले दुर्गम तथा हिमाली जिल्ला मात्र नभएर प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्रमा समेत चुनौती नै हुने गरेकाले आवश्यकता अनुसार सुरक्षाकर्मी थपघट हुने बताउनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर