पशुपतिनाथ-वैद्यनाथधाम हाई-स्पीड कोरिडोर निर्माण गरिने
काठमाडौं । नेपालको पशुपतिनाथलाई भारतको झारखण्डस्थित वैद्यनाथ धाम (बाबाधाम) सँग जोड्ने गरी २५० किलोमिटर लामो ‘पशुपतिनाथ-वैद्यनाथधाम हाई-स्पीड कोरिडोर’ निर्माण गरिने भएको छ ।
यो नयाँ ग्रीनफिल्ड एक्सप्रेसवेले हाल १४ घण्टा लाग्ने यात्रालाई घटाएर लगभग ४ घण्टामा सीमित गर्ने लक्ष्य राखेको छ। नेपाल सरकारले सुरु गरेको निजगढ- काठमाडौं द्रुतमार्ग सम्पन्न भएपछि बैजनाथदेखि काठमाडौंको पशुपतिनाथसम्मको यात्रा ४ घन्टामा पूरा हुन सक्नेछ ।
बिहार सरकारले धार्मिक पर्यटन र क्षेत्रीय कनेक्टिभिटीलाई गति दिने उद्देश्यले यो महत्त्वपूर्ण परियोजना अघि बढाएको हो। बिहारका सडक निर्माण मन्त्री डा दिलीप जायसवालले विधानसभामा यो एक्सप्रेसवे नेपालको राजधानी काठमाडौंबाट सुरु भई भीमनगर र वीरपुर हुँदै बिहारको सुपौल जिल्लाबाट भारतीय सीमामा प्रवेश गर्ने जानकारी गराए ।
त्यसपछि यो बिहारका मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बाँका जिल्ला हुँदै झारखण्डको देवघर जिल्लामा रहेको प्रसिद्ध वैद्यनाथ धाममा पुग्नेछ।
नेपालको पर्यटन क्षेत्रमा भारतीय पर्यटकहरूको आगमनले महत्त्वपूर्ण स्थान ओगट्दै आएको छ। खुला सिमाना, सहज पहुँच तथा सांस्कृतिक र धार्मिक समानताका कारण हरेक वर्ष लाखौं भारतीय नागरिक नेपाल भ्रमणमा आउँछन्, जसमध्ये ठूलो संख्या धार्मिक आस्था बोकेर आउने गर्दछ। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार, नेपाल भित्रिने विदेशी पर्यटकमध्ये भारतीय नागरिक अग्रस्थानमा रहन्छन्।
नेपाल आउने भारतीय पर्यटकमध्ये कति प्रतिशत धार्मिक उद्देश्यले आउँछन् भन्ने यकिन तथ्याङ्क नभए पनि एक महत्त्वपूर्ण हिस्सा तीर्थयात्राकै लागि आउने गरेको पर्यटन व्यवसायीहरू बताउँछन्। भारतबाट बर्सेनि डेढ लाखभन्दा बढी पर्यटक तीर्थयात्रा र बिदा मनाउन नेपाल आउने गरेको एक तथ्याङ्कले देखाउँछ। हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र भएकाले नेपाल भारतीयहरूका लागि एक प्रमुख धार्मिक गन्तव्य बनेको छ।
