धापड्यामबाट पानी छोडेर बागमती नदी सफा पारिँदै
काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ । भक्तजनलाई स्नान गर्न र नदीको सौन्दर्यता अभिवृद्धि गर्न सहयोग पुग्ने उद्देश्यले धापड्यामबाट पानी छडिने थालिएको हो ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बागमती सुधार आयोजनाले महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर परिसरमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लाग्ने भएकाले नदीमा पानीको बहाव बढाउन पानी छाडिएको जनाएको छ ।
पानीको बहाव बढाउन आज दिउँसोदेखि नै ड्यामबाट क्रमिक रूपमा पानी छोड्न थालिएको आयोजनाले जानकारी दिएको छ । आयोजनाले पर्व अवधिभर नदीमा निरन्तर पानी प्रवाह हुने गरी समन्वय गरिएको जनाएको छ ।
आयोजना उपनिर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले महाशिवरात्रिलाई लक्षित गरी आजदेखि नै धापड्यामको पानी नदीमा छोड्न सुरु भएको जानकारी दिए । ‘धाप ड्यामको पानी छोडेपछि पशुपति क्षेत्रसम्म आइपुग्नका लागि करिब १४ घण्टा लाग्छ, त्यसर्थ हामीले आजदेखि नै पानी छोड्न थालेका हौँ’, उनले भने, ‘विशेष दिनमा हामीले ड्यामको पानी बाग्मतीमा छोड्दै आएका छौँ ।’
प्रति सेकेण्ड चार सय लिटर पानी छाडियो
समितिका अनुसार बाग्मती नदीमा प्रति सेकेण्ड ४०० लिटर पानी तीन दिनसम्म छाडिनेछ । ‘पानी छाड्दा बागमती नदीमा पानीको सतह घुँडासम्म आउँछ र व्रतालुलाई नदीमा स्नान गर्न सजिलो हुन्छ, यसबाट नदीको सौन्दर्यता पनि बढ्ने अपेक्षा छ’, नेपालले भने, ‘बागमती नदीमा पानी छाड्न मेलम्ची खानेपानी विकास समितिसँग पनि आग्रह गरिसकेका छौँ ।’
