पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौंमा भव्य स्वागत, निषेधाज्ञा विमानस्थलमा सीमित
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् ।
विमानस्थल वरपर निषेधाज्ञा जारी गरेकाले उनलाई विमानस्थलभित्र स्वागत गर्ने अवसर भने उनका समर्थकहरूले पाएनन् । तर उनलाई समर्थकहरूले “महाराजाधिराज जिन्दावाद, हिन्दुु राष्ट्र कायम गर, हाम्रा राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा आउ देश बचाऊ” भन्ने विभिन्न नारासहित विमानस्थल गेटमा स्वागत गरेर निर्मल निवास महाराजगञ्जतर्फ अगाडि लगेका छन् ।
यस्तै, पूर्वराजा शाहले गाडीबाट आफ्ना समर्थकहरूलाई अभिवादन स्वीकार गर्दै हात हल्लाउँदै धन्यवाद दिएका छन् । पूर्वराजाशाह आज झापाबाट चार महिनापछि काठमाडौं फर्किएका हुन् । यस अवसरमा सर्वसाधारणले पूर्वराजा शाहलाई फूलमाला र अबिर लगाएर अभिनन्दन गरिएको छ ।
उनलाई स्वागत गर्न उपस्थित हुन भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू, दुर्गा प्रसाईंलगायत विभिन्न राजावादी समूहहरूले आह्वान गरेका थिए। विमानस्थलमै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईं पनि उपस्थित भएका थिए। उनी पनि समर्थकहरूको ठूलो भिडसहित विमानस्थल पुगेका थिए।


