प्रधानमन्त्री कार्कीद्वारा पाथीभरा मन्दिरको दर्शन
काठमाडौं । पूर्वी हिमाली जिल्लाहरूको स्थलगत अवलोकनमा रहनुभएका प्रधानमन्त्री सुशीला कार्कीले पाथीभरा मन्दिरको दर्शन गर्नु भएको छ । निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने मुख्य उद्देश्यसहित जिल्ला भ्रमणमा रहनुभएका प्रधानमन्त्री कार्कीले पाथिभरा मन्दिरमा पूजा आराधना गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार प्रधानमन्त्री कार्की बिहान ८ बजे पाथीभरा दर्शनका लागि आइपुग्नु भएको थियो । मन्दिर दर्शनपछि अहिले जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफलको कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी हुनुभएको छ ।
प्रधानमन्त्री कार्कीले पूर्वनिर्धारित कार्यतालिका अनुसार बिहीबार सोलुखुम्बु जिल्लाको भ्रमण सम्पन्न गरेर शुक्रबार ताप्लेजुङ आइपुग्नु भएको हो । पूर्वी हिमाली जिल्लामा केन्द्रित यो भ्रमणलाई आगामी निर्वाचनको तयारी र समन्वयलाई सुदृढ बनाउने उद्देश्यले हेरिएको छ ।
