बङ्गलादेशमा बीएनपीलाई बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्दै
काठमाडौं । बङ्गलादेशको आम निर्वाचनमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ । कुल ३ सय सिटमध्ये हालसम्म बीएनपीले २०९ सिट जितेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
देशका १२ करोड ७० लाखभन्दा बढी मतदाताले बिहीबार मतदान गरेका थिए। निर्वाचनसँगै देशको भविष्य र संवैधानिक सुधारका लागि ‘जुलाई राष्ट्रिय बडापत्र’ सम्बन्धी जनमत संग्रह पनि एकैसाथ आयोजना गरिएको थियो । चुनावी प्रतिस्पर्धा र मुख्य खेलाडीहरू यस पटकको निर्वाचनमा ५१ वटा राजनीतिक दलका १ हजार ९८१ उम्मेदवारहरू चुनावी मैदानमा थिए ।
लामो समय सत्तामा रहेको शेख हसिनाको अवामी लिगलाई निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कारण यस पटक चुनावी मैदानमा उनीहरूको उपस्थिति रहेको थिएन । पूर्वप्रधानमन्त्री शेख हसिनाले बिहीबार सम्पन्न आम निर्वाचनलाई पूर्ण रूपमा फर्जी र असंवैधानिक भन्दै अस्वीकार गरेकी छन्। भारतमा निर्वासनमा रहेकी हसिनाले आफ्नो पार्टी ‘अवामी लिग’ लाई चुनावमा प्रतिबन्ध लगाइएको र अन्तरिम सरकारले गैरकानुनी रूपमा सत्ता कब्जा गरेर निर्वाचन गराएको आरोप लगाउँदै यसलाई अवैध घोषणा गरेकी हुन्।
निर्वाचनको नतिजा सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै हसिनाले भनिन्, ‘मोहम्मद युनुसले असंवैधानिक तरिकाले सत्तामा कब्जा जमाए र सोही सेटिङ अन्तर्गत यो देखावटी चुनाव गराइएको हो। जनमतलाई कुल्चिएर गरिएको यो निर्वाचनको कुनै वैधानिकता छैन।’
बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले २९९ सिटमध्ये २०९ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेको छ। तर, हसिनाले भने मुख्य प्रतिस्पर्धी दल अवामी लिगलाई प्रक्रियाबाटै बाहिर राखेर गरिएको चुनावले बंगलादेशी जनताको वास्तविक प्रतिनिधित्व नगर्ने दाबी गरेकी छन्। १५ वर्षसम्म बङ्गलादेशमा शासन गरेकी हसिनाको पार्टीलाई यसपटक चुनाव लड्न रोक लगाइएको थियो।
