किन रातभर अशान्त रह्यो सिराहा कारागार ?

काठमाडौं ।  गोली र नगदसहित कारागारका नाइके पक्राउ परेपछि सिरहा कारागारमा उत्पन्न विवाद अझै मिलेको छैन । करिब २० घन्टाभन्दा बढी समय बितिसक्दा पनि कारागारको अवस्था अझै अशान्त रहेको छ ।

सोमबार बिहान करिब ११ बजे गोप्य सूचनाका आधारमा गरिएको विशेष सर्च अपरेसनका क्रममा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र १ लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको थियो । त्यसपछि यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

त्यसको विरोधमा कैदीहरूले सोमबार दिनभर र रातभर कारागारको छतमाथि बसेर नाराबाजी गरेका छन् । स्थिति नियन्त्रणमा लिन सोमबार राति करिब ९ बजे प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी एवं प्रवक्ता रमेश बहादुर पालका अनुसार कैदीहरूले नाइके यादवलाई कारागार फिर्ता ल्याउन माग गर्दै होहल्ला र नाराबाजी मङ्गलवार बिहानसम्म पनि जारी राखेको बताए ।

कारागारको तनावको विषयमा छलफल गर्न आज बिहान जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ । सुरक्षालाई मध्यनजर गर्दै कारागारभित्र र बाहिर करिब १५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको अनुगमनका क्रममा कारागारभित्रबाट हतियार, गोली, नगदका साथै चुरोट, सुर्ती जस्ता प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर