बदलिएको नयाँ कांग्रेसलाई विश्वास गरौं : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कोलाहल र हल्लाबाट नतर्सिन र बदलिएको कांग्रेसलाई विश्वास गर्न आग्रह गरेका छन् । पोखरामा शुक्रबार आयोजित कार्यक्रममा थापाले भ्युज र लाइकको पछि नकुदी कांग्रेसको संगठन र तागतमा विश्वास गर्न सबैलाई आग्रह गरे ।
‘भ्युज र लाइकको भरमा सामाजिक सञ्जालका कोलाहल र हल्लाबाट नर्सिउँ । हामीसँग संगठनको तागत छ । वडा, टोल, पधेँरो, शहर बस्तीमा छौँ । सामाजिक सञ्जालमा पनि हुनुपर्छ । तर, नागरिकका मनमा पुग्नुपर्छ’, थापाले भने, ‘नयाँ सोच र शैलीकासाथ आएका छौँ । पाँच वर्षमा के गर्ने भन्ने ठोस सोच र भिजनका साथ आएका छौँ । देश सम्हाल्छौँ । व्यवस्थालाई सुधार्छौ । १६५ वटा क्षेत्रमा निर्वाचन लडेको पार्टी कांग्रेस मात्रै हो । अरु पार्टी छैनन् । यो नयाँ कांग्रेस हो भनेर जनतालाई घरघर गएर बुझाउनुस् ।’ सबैभन्दा पुरानो र बदलिएकोले कांग्रेस विश्वसनीय पार्टी भएको उनको भनाइ छ ।
‘कांग्रेस बदलेर आएका छौँ । कांग्रेसलाई माया गर्नुपर्छ । जेन–जी युवा समूहको पार्टी नै यही हो,’ थापाले थप भने, ‘सबैभन्दा पुरानो, अनुभवी, गौरव गर्न सक्ने र संघर्ष गरेको पार्टी हामी हौं । युवाको आवाज बोल्ने पार्टी भएकोले हामीले नै देश बदल्न सक्छौँ ।’
