अमेरिका–रुस आणविक सन्धिको म्याद समाप्त

काठमाडौं ।  अमेरिका र रुसबिचको अन्तिम आणविक हतियार नियन्त्रण सन्धिको म्याद हिजो बिहीबारदेखि सकिएको छ।

‘न्यु स्टार्ट’ नामको त्यो सन्धिले दुवै देशलाई करिब १५०० लामो दूरीको मात्र वारहेड राख्न सीमित गरेको थियो। यसको अवधि समाप्त भएसँगै आधा शताब्दीपछि पहिलोपटक दुई ठुला आणविक शक्तिमा कुनै सीमा नराख्ने अवस्था सिर्जना गरेको छ।

सम्झौताको समाप्तिले नयाँ अनियन्त्रित आणविक दौडको जोखिम बढाउन सक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन्। यसैबिच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भनेका छन्, ‘सन्धिको समाप्ति अन्तर्राष्ट्रिय शान्ति-सुरक्षाका लागि एक नाजुक क्षण हो।’

उनले अमेरिका र रुसलाई नयाँ सम्झौताका लागि वार्ता गर्न आग्रह पनि गरेका छन्। उनले भनेका छन्, ‘आणविक हतियार प्रयोगको खतरा अहिले दशकौँयताकै उच्च छ।’ यसअघि रुसको विदेश मन्त्रालयले ‘न्यु स्टार्ट’ सन्धिको सर्तमा कुनै देश नबाँधिएको र आफैँ जिम्मेवार भएको बताएको थियो।

अमेरिकाका तत्कालीन राष्ट्रपति बराक ओबामा र रुसका तत्कालीन राष्ट्रपति दिमित्री मेदभेदेवले सन् २०१० मा हस्ताक्षर गरेको न्यु स्टार्ट सम्झौताले दुई पक्षको हतियार घटाउने क्रम सुरु गरेको थियो।

विशेषज्ञहरूले सम्झौताको समाप्तिले अमेरिकी र रुसी आणविक क्षमताको अनियन्त्रित वृद्धि र विश्वव्यापी अस्थिरता उत्पन्न गर्न सक्छ, जसले चीन र अन्य राष्ट्रलाई पनि आफ्नो शस्त्रागार बढाउन प्रोत्साहित गर्नेछ भनी चेतावनी दिएका छन्।

ट्रम्प प्रशासनले गोल्डन डोम मिसाइल रक्षा प्रणाली जस्ता योजनाबाट आफ्नो रणनीतिक लाभ सुनिश्चित गर्ने सम्भावना खोजिरहेको छ। विश्व अहिले तीव्र रणनीतिक प्रतिस्पर्धामा छ। अमेरिका, रुस र चीनका आणविक क्षमताहरू सक्रिय छन्। विशेषज्ञहरूले यस्तो अवस्था हाम्रो जीवनकालमा पहिले कहिल्यै देखिएको थिएन भन्दै यसले विश्वव्यापी आणविक प्रतिस्पर्धा धेरै खतरनाक बनाउने चेतावनी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर