निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त राख्न सेना परिचालन
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्ने क्रममा आजदेखि सेना परिचालन गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना-२०८२ अनुरूप नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय आजैदेखि परिचालित भएका हुन् ।
निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो । एकीकृत सुरक्षा योजना बमोजिम निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिने छन् ।
नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी नेपाली सेना र नेपाल प्रहरीसँगको समन्वयमा सशस्त्र प्रहरी बलले लिनेछ। नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने छ । निर्वाचन प्रयोजनका लागि नेपाली सेना १६५ वटै निर्वाचन क्षेत्रमा आजदेखि परिचालित हुने सेनाले जनाएको छ ।
