सामाजिक सञ्जाल विधेयक फिर्ता लिइने

काठमाडौं ।  सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्बाट फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले भन्नुभयो,  “सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।” सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने भन्दै तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो विधेयक ल्याउनुभएको थियो । सो विधेयक २०८१ माघ १५ गते राष्ट्रियसभामा दर्ता भएको थियो ।

त्यसै गरी बैठकले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवनपरिसरमा जेनजी आन्दोलनका सहिदको सालिक बनाउने निर्णयसमेत गरेको हो । सरकारका प्रवक्ता अर्यालले संसद् भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरूको सालिक बनाउने गरी सिंहदरबारपरिसरको गुरुयोजना संशोधन गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर