निर्वाचनको एक महिनाअघि देशभर सेना परिचालन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै सरकारले नेपाली सेनालाई एक महिनाअघिदेखि नै फिल्डमा परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार बुधबारबाट देशभर सेना परिचालन सुरु हुँदैछ।

सरकारले निर्वाचन सुरक्षार्थ ७९ हजार ७२७ जना नेपाली सेना परिचालन गर्ने निर्णय गरेको हो। सेनाले हाल सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका सार्वजनिक भवन, कारागारलगायत संवेदनशील स्थानमा पनि जिम्मेवारी सम्हाल्नेछ। निर्वाचनका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि संयुक्त रूपमा परिचालित हुनेछन्।

नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले निर्वाचन हुनुभन्दा एक महिनाअघिबाटै सेना परिचालन गर्ने म्यान्डेटअनुसार बुधबारबाट फिल्डमा खटिन लागेको जानकारी दिए। उनका अनुसार आवश्यक सबै तयारी पूरा भइसकेको छ र सेना एकीकृत निर्वाचन सुरक्षा योजनाले तोकेको कार्यविधिअनुसार परिचालित हुनेछ।

गत कात्तिकमा राजनीतिक दलहरूले निर्वाचनमा सहभागिताका लागि सुरक्षाको प्रत्याभूति आवश्यक रहेको शर्त राखेपछि निर्वाचन आयोगले चारै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गर्न सरकारलाई आग्रह गरेको थियो। आयोगको सिफारिसअनुसार उच्चस्तरीय सुरक्षा समितिको बैठकपछि गत ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालनका लागि स्वीकृति दिइसकेका थिए।

निर्वाचनलाई लक्षित गर्दै देशभर आवश्यकता अनुसार गस्ती, पेट्रोलिङ तथा संवेदनशील क्षेत्र र मतदानस्थलको अवस्था हेरी संयुक्त गस्ती सञ्चालन गरिनेछ। यसअघि मन्त्रिपरिषद्को सिफारिसमा स्वीकृति पाएसँगै सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना तयार गरी तालिम र अभ्याससमेत सम्पन्न गरिसकेको छ।

गृह मन्त्रालयका अनुसार आगामी निर्वाचनमा चारै सुरक्षा निकाय र निर्वाचन प्रहरीसमेत गरी कुल ३ लाख ३७ हजार ९११ सुरक्षाकर्मी परिचालन हुनेछन्। यसमध्ये नेपाली सेनाबाट ७९ हजार ७२७, नेपाल प्रहरीबाट ७५ हजार ५९७, सशस्त्र प्रहरी बलबाट ३४ हजार ५७६ र प्रहरी मातहत रहने १ लाख ३० हजार ९८० निर्वाचन प्रहरी खटाइनेछ।

त्यसैगरी सशस्त्र प्रहरी मातहत १५ हजार ११० निर्वाचन प्रहरी तथा १ हजार ९२१ गुप्तचर पनि निर्वाचन सुरक्षामा परिचालित हुने जनाइएको छ। सरकारले व्यापक सुरक्षा व्यवस्थासहित निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने तयारी तीव्र बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर