चीनका पूर्वन्यायमन्त्रीलाई आजीवन कारावास

काठमाडौं ।  एक दशकभन्दा बढी समयसम्म झन्डै दुई करोड अमेरिकी डलर घुस लिएको अभियोगमा चीनको एक अदालतले पूर्वन्यायमन्त्री ताङ यिजुनलाई सोमबार आजीवन कारावासको सजाय सुनाएको छ। ६४ वर्षीय ताङ सन् २०२० देखि २०२३ सम्म चीनको न्यायमन्त्री थिए। उनले त्यसअघि लियाओनिङ प्रान्तको गभर्नर र निङ्बो सहरका लागि चिनियाँ कम्युनिस्ट पार्टीको प्रमुख जस्ता शक्तिशाली पदहरू सम्हालेका थिए। राष्ट्रपति सी चिनफिङले सन् २०१२ मा सत्ता सम्हालेदेखि चलाएको भ्रष्टाचार विरोधी व्यापक अभियानअन्तर्गत ताङमाथि यो कडा कारबाही भएको हो।

पूर्वी चीनको सियामेन इन्टरमिडिएट पिपुल्स कोर्टका अनुसार ताङले सन् २००६ देखि २०२२ सम्म विभिन्न पदमा रहँदा पदीय मर्यादाको दुरुपयोग गरेका थिए। उनले विभिन्न संस्था र व्यक्तिहरूलाई अनुचित लाभ दिलाउनका लागि निरन्तर घुस लिएको अदालतको ठहर छ। ताङले पैसाको बदलामा व्यक्ति र कम्पनीहरूलाई सेयरको सार्वजनिक निष्कासन (आईपीओ), बैंक ऋण सुरक्षित गर्न, जग्गा अधिग्रहण र अन्य सरकारी मामिलामा अवैध रूपमा सहयोग गर्ने गरेका थिए। उनले कुल १३७ मिलियन युआन (करिब १ करोड ९७ लाख डलर) अवैध रूपमा प्राप्त गरेको अदालतको विज्ञप्तिमा उल्लेख छ।

अदालतले ताङले आफ्नो गिरफ्तारीपछि अभियोग स्वीकार गरेको, पश्चाताप व्यक्त गरेको र अनुसन्धानमा सहयोग गरेको कुरालाई पनि ध्यानमा राखेको जनाएको छ। त्यसैले उनलाई मृत्युदण्डको सट्टा आजीवन कारावासको सजाय सुनाइएको हो। चीनमा यसअघि अर्का पूर्वन्यायमन्त्री फु झेङहुआलाई पनि सन् २०२२ मा भ्रष्टाचारकै मुद्दामा दोषी ठहर गरिएको थियो। उनलाई सुरुमा दुई वर्षको सहुलियतसहित मृत्युदण्डको सजाय सुनाइए पनि पछि त्यसलाई आजीवन कारावासमा परिवर्तन गरिएको थियो।

राष्ट्रपति सीको भ्रष्टाचार विरोधी अभियानलाई कतिपय आलोचकहरूले राजनीतिक प्रतिद्वन्द्वी समाप्त गर्ने रणनीतिका रूपमा समेत टिप्पणी गर्ने गरेका छन्। यद्यपि, पछिल्लो समय उच्च तहका अधिकारीहरू धमाधम कारबाहीमा परिरहेका छन्। गत महिना मात्र चीनका सबैभन्दा शक्तिशाली जनरलमध्येका एक झाङ युक्सियामाथि पनि भ्रष्टाचारको अनुसन्धान सुरु गरिएको छ। उनी हालैका दशकहरूमा अनुसन्धानको घेरामा परेका सबैभन्दा उच्च सैन्य व्यक्तित्व हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर