निर्वाचन राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन केवल जनप्रतिनिधि पठाउने प्रक्रिया मात्र नभई नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बनाउनुपर्ने बताएकी छन् । राष्ट्रियसभाको सोमवार बसेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन प्रक्रिया सम्पन्न भइसकेको उल्लेख गर्दै राज्यका स्रोत तथा साधन निर्वाचनमा केन्द्रित गरिएको बताए । उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत पारिएको बताइन् ।
उनले जेन–जी विद्रोहका क्रममा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको जानकारीसमेत सभालाई गराए । उनले सार्वजनिक निकायका काम-कारबाहीलाई पारदर्शी र उत्तरदायी बनाउँदै भ्रष्टाचार न्यूनीकरणमा पूर्ण प्रतिबद्धताका साथ सरकार अघि बढिरहेको दाबीसमेत गरिन् । प्रधानमन्त्री कार्कीले भ्रष्टाचार न्यूनीकरणसम्बन्धी रणनीतिक योजना तथा प्रविधिमा आधारित सुशासनको मार्गचित्र निर्माणको तयारी अन्तिम चरणमा पुगेको जानकारीसमेत सभालाई गराइन् ।
उनले भनिन्, ‘सार्वजनिक निकायका कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाई भ्रष्टाचार न्यूनीकरणमा पूर्ण प्रतिबद्धताका साथ सरकार लागिपरेको छ । भ्रष्टाचार न्यूनीकरणसम्बन्धी रणनीतिक योजना तथा प्रविधिमा आधारित सुशासनको मार्गचित्र तयारीको कार्य अन्तिम चरणमा पुगेको छ । अगामी २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारको मनोनयन सम्पन्न भएको छ । राज्यका स्रोत, साधन निर्वाचनमा केन्द्रित भएका छन् । जेनजी विद्रोहका क्रममा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ । एकीकृत निर्वाचन सुरक्षा योजना सुदृढ गरी कार्यान्वयनमा ल्याइएको छ । सबै सुरक्षा निकाय परिचालित गरिएको छ । यो निर्वाचन सदनमा जनप्रतिनिधि पठाउने प्रक्रिया मात्र होइन । यो नेपालको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्दछ भन्ने मेरो सविनय आग्रह छ ।’
कार्कीले केही मन्त्रीले पदबाट राजीनामा दिएर निर्वाचनमा भाग लिएकै आधारमा सरकारमाथि कुनै दलको प्रभाव रहेको भन्ने आरोप लगाउनु सही नभएको स्पष्ट पार्दै भनिन्, “सरकार छाडेर चुनावमा जानु कुनै बेइमानी नभएको र त्यसबेला जेनजी समूहको आग्रहमा उहाँहरुलाई मन्त्री बनाइएको हो । जति दिन बस्नुभयो इमानदार रुपमा काम गर्नुभयो । राजीनामा दिएपछि चुनावमा लड्न वा आफ्नो रुचिको क्षेत्रमा जान पाउनुहुन्छ ।”
