पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएसँगै वर्षा बन्द, मौसम खुल्दै जाने
काठमाडौं । देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली हिजो बुधबारदेखि साँझदेखि बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि भोलिदेखि मौसम खुल्ने बताए। उनले चिसो भने केही दिन रहन सक्ने बताउँदै अब अर्काे प्रणाली नआएसम्मलाई मौसम खुल्ने जानकारी दिए।
उक्त प्रणालीले हिजो काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा गराएको छ। विशेषगरी यो प्रणालीले मधेस र कोशी प्रदेशलाई सामान्यभन्दा छुन सकेन। उक्त प्रणलीले काठमाडौंमा २.२, ललितपुर ४.८ र भक्तपुरमा पनि ४.८ मिलिमिटर वर्षा गराएको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ।
रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर, बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरमा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको छ। नेपालको पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात पनि भएको छ।
यसैबीच हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू-भागमा पूर्णतया बादल लागेको छ र बाँकी भागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज बिहीबार दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।
त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ। हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ।
