जानकी मन्दिरमा ज्ञानेन्द्र शाहको उत्साहपूर्ण पूजाअर्चना

काठमाडौं ।  मधेश प्रदेशको राजधानी जनकपुरधाम पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो यात्रा विशुद्ध धार्मिक रहेको स्पष्ट पारेका छन्। परिवारसहित जनकपुरधाम आएका पूर्वराजा शाहले जानकी मन्दिरलगायत विभिन्न मठ–मन्दिरमा पूजा–पाठ गरेका हुन्। पूजा सम्पन्न गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो यात्रा कुनै राजनीतिक उद्देश्यले नभई पारिवारिक तथा धार्मिक आस्थासँग जोडिएको भ्रमण मात्र भएको बताए।
जानकी मन्दिर पुगेका पूर्वराजा शाह र उनका परिवारका सदस्यलाई सोमबार दिउँसो मन्दिर परिसरमा उपस्थित समर्थकहरूले स्वागत गरेका थिए। जानकी मन्दिरमा विशेष पूजा सम्पन्न गरेपछि पूर्वराजा शाह करिब आधा किलोमिटर पैदल यात्रा गर्दै राम मन्दिर पनि पुगेका थिए। यस क्रममा उनी शान्त र सहज रूपमा धार्मिक कर्ममा सहभागी देखिएका थिए।
यात्राका क्रममा केही हिन्दुवादी संघ–संस्था तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरूले ‘राजा आऊ, देश बचाउ’ भन्ने नाराबाजी गरेका थिए। यद्यपि, पूर्वराजा शाहले यस किसिमका नाराबाजीप्रति कुनै राजनीतिक प्रतिक्रिया नदिँदै आफ्नो भ्रमणलाई धार्मिक आस्थामा सीमित रहेको दोहोर्याएका छन्।
पूर्वराजा शाहको जनकपुरधाम आगमनले शहरमा केही समय चहलपहल बढाए पनि उनको तर्फबाट कुनै राजनीतिक गतिविधि वा अभिव्यक्ति नआएको जनाइएको छ। धार्मिक स्थलहरूको दर्शन र पूजा–पाठपछि पूर्वराजा शाह परिवारसहित आफ्नो यात्रा कार्यक्रमअनुसार अघि बढेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर