महेश बस्नेत, शोभा पाठकलगायत आयोगको स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका चारजनालाई स्पष्टीकरण सोधेको छ । आयोगले स्पष्टीकरण सोधेका उम्मेदवारमा नेपाली जनसेवा पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नम्बर–२ मा उठेका कमल भुसाल (निकोलस भुसाल), श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी–१ का उमेदवार हर्कराज राई (हर्क साम्पाङ) छन् ।
यस्तै, नेपाल जनसेवा पार्टीका तर्फबाट भक्तपुर–२ मा उम्मेदवार बनेकी जानुका पाठक (शोभा पाठक) र भक्तपुर–२ कै उमेदवार एवं नेकपा (एमाले) का सचिव महेश बस्नेतलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । निकोसल भुसाल ‘जेनजी’ आन्दोलनको ‘आइकोनिक’ जुत्ता चुनाव चिह्न भनेर प्रचार गरेको विषयमा स्पष्टीकरण सोधिएको हो । धरानका साम्पाङले प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएको विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
पाठकले उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको, विभिन्न आरोप लगाएको विषयमा स्पष्टीकरण सोधिएको छ । बस्नेतले झापा–५ का उमेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) का विषयमा आपत्तिजनक टिप्पणी गरेको विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
