घन्टीको राष्ट्रपतिको अफरपछि डा. बाबुरामले उम्मेदवारी फिर्ता लिएको चर्चा
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ मा उनले रास्वपालाई समर्थन गर्दै शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
गोरखा–२ मा नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कवीन्द्र बुर्लाकोटी, नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने, आम जनता पार्टीबाट कल्पना कुमाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट टेकबहादुर प्रधान, मंगोल नेशलन अर्गनाइजेसनबाट सोमबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टी रामशरण बुढाथोकी, उज्यालो नेपाल पार्टीबाट बलराम तामाङ, नेपाल कम्युनिस्ट पार्टी( एकीकृत मार्क्सवादी लेनिनवादी) बाट मिलन गुरुङ, नेशन रिपब्लिक नेपालबाट प्रसाद गुरुङ उम्मेदवार बाँकी छन् ।
अघिल्लो निर्वाचनमा पनि उनले यस क्षेत्र माओवादी अध्यक्ष प्रचण्डलाई छोडेका थिए। उनले प्रचण्डलाई जिताउन आफैँ प्रचार प्रसारमा समेत खटिएका थिए। उनी यस क्षेत्रबाट दुई दुई पटक निर्वाचन जितेका नेता हुन् ।
उनले रास्वपा सभापति रवि लामिछानेसँग शुक्रबार ‘फोन वार्ता’ गरेपछि रास्वपाका उम्मेदवार बुर्लाकोटीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताइन्छ । बुर्लाकोटी रवि लामिछानेका निकटस्थ र अभिन्न सहयोगी हुन् । त्यसैले उनलाई जिताउन लामिछानेले भट्टराईसँग विशेष लगन गाँठो कसेको बुझिएको छ । डा. भट्टराईले अभिभावकीय भूमिकाका लागि उम्मेदवारी फिर्ता लिएको सार्वजनिक अभिव्यक्ति दिएपनि रास्वपाले आगामी राष्ट्रपतिको उम्मेदवार बनाउने दरो आश्वासन दिएपछि आफ्नो उम्मेदवारी नष्ट गरेको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।
