भोलि शुक्रबार दिउँसोदेखि शनिबार मध्याह्नसम्म वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले माघ ०९ गते (शुक्रबार) दिउँसोदेखि माघ १० गते (शनिबार) बिहानसम्म विभिन्न ठाउँमा वर्षा/हिमपातको सम्भावना रहेको बताएको छ। स्वतन्त्र मौसमविदहरूले पनि यो सम्भावना औंल्याएका छन्। यसअघि पश्चिमबाट सुख्खा हावा आइरहे पनि शुक्रबार दिउँसोबाट भने पानी पार्ने सम्भावनासहितको बादलको आगमन हुन लागेको हो।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

भोलि भने लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर