दक्षिणी अफ्रिकामा भीषण वर्षा र बाढी : १०० भन्दा बढीको मृत्यु

काठमाडौं ।   दक्षिणी अफ्रिकाका देशहरू दक्षिण अफ्रिका, मोजाम्बिक र जिम्बाब्वेमा निरन्तरको भीषण वर्षा र बाढीका कारण १०० भन्दा बढी मानिसको ज्यान गएको छ। धेरै क्षेत्रमा अझै पनि भारी वर्षाको चेतावनी जारी गरिएको छ ।

सबैभन्दा बढी क्षति मोजाम्बिकमा भएको छ। त्यहाँको विपद् व्यवस्थापन निकायका अनुसार गत वर्षको अन्त्यदेखि सुरु भएको असामान्य वर्षायामका कारण १०३ जनाको मृत्यु भएको छ ।

बाढी, डुबान, पूर्वाधार भत्किनु, चट्याङ लाग्नु र हैजाजस्ता कारणले ज्यान गएको जनाइएको छ। विश्व खाद्य कार्यक्रमका अनुसार मोजाम्बिकमा दुई लाखभन्दा बढी मानिस प्रभावित भएका छन् भने हजारौं घर क्षतिग्रस्त भएका छन् ।

दक्षिण अफ्रिकामा उत्तरी लिम्पोपो र एम्पुमालांगा प्रान्तमा आएको बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ । सेनाले हेलिकोप्टरमार्फत छानामा र रुखमा फसेका मानिसहरूको उद्धार गरेको छ । राष्ट्रपति सिरिल रामाफोसाले एक साताभित्र करिब ४०० मिलिमिटर वर्षा भएको र धेरै घर पूर्ण रूपमा बगाएको बताएका छन् ।

प्रसिद्ध क्रुगर राष्ट्रिय निकुञ्जमा पनि बाढीको ठूलो असर परेको छ । त्यहाँका करिब ६०० पर्यटक र कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ। नदीहरू उर्लिएपछि पार्कका केही भाग पूर्ण रूपमा सम्पर्क विहीन बनेका छन् ।

जिम्बाब्वेमा भारी वर्षाका कारण ७० जनाको मृत्यु भएको छ भने १,००० भन्दा बढी घर नष्ट भएका छन् ।  विद्यालय, सडक र पुलजस्ता पूर्वाधारमा पनि गम्भीर क्षति पुगेको छ। यसैगरी मडागास्कर, मलावी र जाम्बियामा पनि बाढीको असर देखिएको छ ।

विशेषज्ञहरूका अनुसार यो अवस्था ला निन्या मौसम प्रणालीका कारण उत्पन्न भएको हुन सक्छ, जसले दक्षिणपूर्वी अफ्रिकामा अत्यधिक वर्षा गराउने गर्दछ ।  मोजाम्बिकमा मात्रै ७० हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ, जसले खाद्य सुरक्षामा थप संकट सिर्जना गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर