शेरबहादुर र आरजु देउवाबारे सभापति गगनले भने– ‘अब विश्राम लिनुपर्छ’
काठमाडौं । कांग्रेस सभापति गगन थापाले अब पार्टीका एउटा तप्काले चुनाव लड्न नहुने बताएका छन् । पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता आरजु देउवा राणालाई निर्वाचनमा टिकट दिनुहुन्छ कि हुँदैन भनेर सोधिएको प्रश्नमा उनले त्यसबारे पार्टीको विधान अनुसार उम्मेदवार तय गर्ने संसदीय बोर्डले निर्णय गर्ने बताए ।
उनले आफू बोर्डको सभापतित्व गर्ने बताउँदै भने, ‘टिकट दिन्नौँ भन्दा पनि उहाँहरु लडनुहुन्न भन्ने नै हो । तिमीलाइ दिन्नौँ भन्दा पनि एउटा तह र पंक्तिले अब विश्राम लिनुपर्छ । यो कुनै अनादार भनेर भनेको कुरा हैन ।’ कान्तिपुरको पडकास्ट श्रृङ्खला ‘बियोन्ड दि हेडलाइन्स’मा कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानसँग प्रत्यक्ष कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।
एउटै मान्छेले एउटा चुनाव चिह्नमा सधैं उठ्ने परिपाटीले नागरिकमा निराशा ल्याउने पनि थापाले बताए । उनले देउवा दम्पतीको हकमा पनि यसैगरी सोच्नुपर्ने बताए । शेरबहादुर देउवाले फेरि एकपटक चुनाव उठ्छु भन्नुभयो भने पार्टीले के गर्छ भन्ने प्रश्नमा उनले भने, ‘कुनै व्यक्तिलाई तैँले चुनाव लडनै पाउँदैनस् भन्नु पनि हुन्न । पार्टीको प्रत्येक सदस्यले आकांक्षा राख्नु हकको विषय पनि हो । कुनै व्यक्तिका सन्दर्भमा सेलेक्टिभ हुनुहुँदैन । देउवाको हकमा पनि सेलेक्टिभ हुनुहुँदैन । फरक तरिकाले भने सोच्नुपर्छ ।’
शेरबहादुर र आरजुलाई अन्तिमसम्म साथ दिने नेताहरुले टिकट पाउनुहुन्छ भन्ने प्रश्नमा उनले कसैलाई साथ दिनु अपराध नरहेको बताए । उनले भने, ‘त्यसरी त सोच्नै हुँदैन । कसैलाई साथ दिनु अपराध त हैन नि ? कतिपय नेता उठ्नैपर्ने हुन्छ । कतिपयलाई नउठ्नुस् भन्न पनि हुँदैन । तिमीहरुले हामीविरुद्ध बौल्यौँ । अब हामी ठेगान लगाउँछौँ भनेर सोच्नु हुँदैन ।’
उनले उम्मेदवार छनोटको समय एकदमै प्रेसर रहेको बताउँदै अहिले रिसाएका साथीहरुलाई फकाउनुपर्ने र जोडनुपर्ने काम बाँकी रहेको पनि बताए । उनले भने, ‘केन्द्रीय कमिटीमा साथीहरुसँग सल्लाह गरेर प्रधानमन्त्रीको उम्मेदवार को हुने भनेर टुंगो लगाउँछौं ।’ सभापति थापाले १ सय ६५ क्षेत्रमै कांग्रेसले उम्मेदवार उठाएर निर्वाचनमा जाने पनि बताए । कांग्रेसले रुख चिह्नबाहेकमा मत नमाग्नेसमेत दाबी गरे ।
(तस्बिर, समाचार साभारः कान्तिपुर अनलाइन डट कम)
