धम्की आएको निर्वाचन आयोग प्रमुखको भनाइ
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गराउने विषयमा धम्की आउने गरेको बताएका छन् । शुक्रबार निर्वाचन आचारसंहिताबारेमा राजनीतिक दलहरूसँगको छलफलमा उनले सो कुरा बताएका हुन् ।
‘अहिले पनि थुप्रै म्यासेज मेरो मोबाइलम होलान् । यदि मलाई हेलिकोप्टर प्रयोग गर्न दिइनस् भने निर्वाचन आयोगबाट सडकमा आएपछि देखाइदिन्छु भन्ने म्यासेज मसँग छ । त्यस्ता धम्की हुँदाहुँदै हामीले निर्वाचन गर्याैँ । हेलिकोप्टर हामीले निषेध गर्यौं,’ उनले भने, ‘आवश्यकताको सिद्धान्तअनुसार प्रयोग गर्न भने खुला रहेको छ । दुर्गममा पुगेका उम्मेदवारलाई स्वास्थ्य समस्या आयो भने त्यो बेला प्रयोग गर्नुपर्छ ।’ कानुनको लक्ष्मणरेखाभित्र रहेर कार्यान्वयन गराउने विषयमा आयोगले कुनै कसुर नराख्ने उनले बताए ।
प्रधानमन्त्री र मन्त्रीका अभिव्यक्तिप्रति नेकपाको आपत्ति
यसैगरी नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ता (जेन-जी) लाई निर्वाचनमा जिताउनुपर्छ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री कार्की तथा विभिन्न मन्त्रीहरूले सार्वजनिक भाषणहरूमा यस्ता खालको अभिव्यक्ति दिनु आपत्तिजनक रहेको नेता पुनको भनाइ थियो । उनले निर्वाचनमा राज्यको शक्ति र स्रोतको दुरुपयोग हुन नदिने कुरामा पनि निर्वाचन आयोगलाई ध्यान दिन सुझाव दिए ।
शुक्रबार निर्वाचन आयोगको आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी छलफल कार्यक्रममा नेता पुनले निर्वाचन आचारसंहिता अनुगमनका लागि भरपर्दो मेकानिजमको व्यवस्था गर्न पनि निर्वाचन आयोगलाई सुझाव दिए ।
उनले भने, ‘राज्य शक्ति, राज्यको स्रोत, साधनहरू दुरुपयोग नहोस यसमा असाध्यै ध्यान जाओस् निर्वाचन आयोगको । हामी बाहिरबाट सुनिरहेका छौँ-प्रधानमन्त्री, मन्त्रीजीहरूको यस्तालाई जिताउनु पर्दछ भनेर भनेको । यस्तालाई हराउनु पर्छ भनेर भनेको भाषण सुनिरहेका छौँ । यसमा कसरी हेर्नुहुन्छ ? अहिलेगैर दलीय सरकार छ । विभिन्न तहका सरकारहरू छन । प्रदेश सरकार, स्थानीय सरकार। यसमा आचारसंहितामा राम्रोसँग राखिएको छ । तर यसको कार्यान्वयन हुन्छ कि हुँदैन ? यसमा निर्वाचन आयोगको भरपर्दो मेकानिज्म बनाउनु पर्ने हुन्छ । अर्को सूचना प्रविधि क्षेत्रको अनुगमन कसरी हुन्छ । त्यसमा पनि निर्वाचन आयोगको ध्यान दिनुपर्ने हुन्छ ।’
नेता पुनले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि सूचना प्रविधिको दुरुपयोग हुन नदिन पनि निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने बताए ।
