गगन-विश्वमाथि कारवाहीसँगै नेपाली कांग्रेसमा फूट
काठमाडौं । नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ । सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहले महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट कारबाही गर्ने निर्णय गरेको छ ।
देउवा समूहले उनीहरूलाई पार्टी अनुशासन उल्लंघन, समानान्तर गतिविधि र असंवैधानिक रूपमा विशेष महाधिवेशन आयोजना गरेको आरोप लगाएको छ । कारबाहीको निर्णय केन्द्रीय तहबाट सार्वजनिक भएसँगै कांग्रेसभित्रको आन्तरिक विवाद औपचारिक विभाजनमा परिणत भएको हो ।
यता, गगन–विश्वप्रकाश समूहले आह्वान गरेको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको छ । विशेष महाधिवेशनले पार्टी सभापतिमा गगन थापालाई चयन गर्ने तयारी तीव्र बनाएको जनाइएको छ । निर्वाचन समिति गठन भइसकेको र मतदान प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको नेताहरूले बताएका छन् ।
कारवाहीको विवरण बोकेर संस्थापन निर्वाचन आयोगमा
कांग्रेसको संस्थापन (शेरबहादुर देउवा) पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित तीन नेतालाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा दर्ता गराएको छ। बुधबार अपराह्न आयोगको कार्यालय पुगेर देउवा पक्षका नेताहरूले कारबाहीको जानकारीसहितको पत्र दर्ता गराएका हुन्।
यता, कारबाहीमा परेका नेताहरूले भने देउवा पक्षको उक्त निर्णयको कुनै औचित्य नरहेको प्रतिक्रिया दिएका छन्। बहुमत महाधिवेशन प्रतिनिधिहरू आफूहरूको पक्षमा रहेको भन्दै उनीहरूले यो कारबाहीलाई अस्वीकार गरेका छन्।
देश र कांग्रेसलाई बदल्ने नेता गगन थापा : शर्मा
निलम्बित महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र देशलाई बदल्ने नेता गगन थापा भएको बताएका छन् । केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिले आफूहरूलाई कारबाही गरेपछि बन्दसत्रमा बोल्दै शर्माले अब देश र कांग्रेसलाई बदल्न गगन थापालाई अगाडि सार्ने बताएका हुन् । सहमतिको प्रयास भएकै बेला हठात् कारबाहीको निर्णय लिइएको भन्दै उनले कांग्रेसका खास नेता र कार्यकर्ता आफूहरूसँग रहेको बताए ।
कांग्रेसकै चुनाव चिह्नमा मात्रै भोट हाल्न पाउनुपर्छ भन्दा पनि नदिएको उनको भनाइ छ । सभापतिलाई भेटेरै सम्मानित भएर बस्न आग्रह गरे पनि सक्रिय राजनीतिको महत्त्वाकांक्षा देखाएको आरोप उनले लगाए । कारबाहीलगत्तै पनि उनले विशेष महाधिवेशनबाट नेतृत्व बदलेर देश बदल्ने बाटोमा प्रवेश गर्ने बताएका हुन् । एक साताभित्र सानेपामा गगन थापाकाे नेतृत्वमा कांग्रेसकाे बैठक बस्ने दाबी शर्माले गरे ।
