देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन गर्ने निर्णय
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन गर्ने निर्णय गरेको छ। विशेष महाधिवेशनले पारित गरेको कार्यविधिअनुसार चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले हालको कार्यसमिति भंग गरी १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गरिएको छ।
कांग्रेसको २०७८ मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न चौधौँ महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएका थिए। त्यसपछि मंसिर १५ गते बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गरेको थियो। तर विशेष महाधिवेशनले उक्त अवधि समाप्त भइसकेको ठहर गर्दै नयाँ व्यवस्थामा जाने निर्णय गरेको हो।
कार्यविधिमा विशेष केन्द्रीय महाधिवेशनमार्फत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न एक जना संयोजकसहित पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने प्रस्ताव पनि समावेश छ। सो निर्वाचन समितिले आवश्यक प्रक्रिया अघि बढाएर केन्द्रीय नेतृत्व पुनर्संरचना गर्नेछ।
यसैगरी, विशेष महाधिवेशनले विगतमा कांग्रेसको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णयहरूको पुनरावलोकन गर्ने व्यवस्था पनि गरेको छ। आवश्यक ठहरिएमा ती निर्णयहरूमा सुधार, निष्क्रियता वा खारेजीसमेत गरिने कार्यविधिमा उल्लेख छ।
त्यस्तै, विशेष महाधिवेशनले पुस २७ र २८ गते बोलाइएको केन्द्रीय महाधिवेशन वैधानिक रहेको प्रस्ताव पनि पारित गरेको छ। उक्त कार्यविधि महाधिवेशन हलले औपचारिक रूपमा अनुमोदन गरिसकेको छ। यस निर्णयसँगै कांग्रेसमा नेतृत्व पुनर्संरचना, संगठनात्मक सुधार र आगामी १५औँ महाधिवेशनतर्फको तयारी औपचारिक रूपमा अघि बढेको मानिएको छ।
विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने
कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मंगलबारसम्म लम्बिएको हो । आइतबारदेखि चलेको महाधिवेशन मंगलबारसम्म लम्बिएको विशेष महाधिवेशन प्रचार-प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिए ।
प्रतिक्रिया
