साँखु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५
काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका-३ साँखु जहरसिंहपौवास्थित सडकमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
बुधबार चार जनाको मृत्यु भएकामा आज थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या पाँच पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । उनका अनुसार सबैको सनाखत भएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् ।
नेपालगञ्जको कोहलपुर नगरपालिका-५ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा-५ घर भई हाल बूढानीलकण्ठ-७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बू, सिरहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता, पाँचथर घर हाल गोठाटार बस्ने अन्दाजी ६५ वर्षीय देवेन्द्र लिम्बू र काठमाडौँ जोरपाटीका ६० वर्षीय अर्जुन लामिछानेको मृत्यु भएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए ।
