कुलमानले निःस्वार्थ सेवा गरेको प्रधानमन्त्रीद्वारा प्रशंसा

काठमाडौं ।  कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार राति पुगेर ऊर्जामन्त्री घिसिङले प्रधानमन्त्री कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । राजीनामा पत्र बुझ्दै प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीन वटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकामा बधाई र धन्यवाद दिइन् ।

“निकै प्रतिकूल अवस्थामा तपाईंले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ”, प्रधानमन्त्री कार्कीले भनिन्, “रातदिन नभनी खट्नुभयो । देशका विभिन्न भागमा पुग्नुभयो । विपद्काबेला उस्तै सक्रिय रहनुभयो । विपद्ग्रस्त क्षेत्रमा आफैँ पुगेर खट्नुभयो । हाम्रो विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो । यो कुरा देशले सम्झनेछ । जनताले मूल्याङ्कन गर्ने छन् ।”

प्रधानमन्त्री कार्कीले घिसिङलाई सम्मानस्वरुप खादा पहिराइदिँदै भनिन्, ‘तपाईँ आफ्नो रहरले वा कुनै स्वार्थ राखेर आउनुभएको होइन। हामीले नै निम्त्याएका हौँ। अझ जेनजी युवाले तपाईँको माग गरेका हुन्। चुनाव लागेपछि राजनीतिमा जान छुट पाउने गरी नै तपाईँलाई हामीले भित्र्याएका हौँ। कुनै सुविधा पनि नलिएर तपाईँले निःस्वार्थ सेवा गर्नुभयो। आउँदा दिनमा अझै देशको निम्ति अझै ठुलो काम गर्न सक्नुहुनेछ। यसका निम्ति म बधाई अहिले नै दिन चाहन्छु।’

मन्त्री घिसिङले अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति आभार प्रकट गरे । घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता गर्नेसम्बन्धी समझदारी भइसकेको छ । समझदारीअनुसार उनी रास्वपाको उपाध्यक्ष बन्ने तय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर