वीरगन्जमा लगाइएको कर्फ्यु लम्बियो

काठमाडौं ।  वीरगञ्ज महानगरपालिकामा लगाइएको कर्फ्यु आदेश आज दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको छ । सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरिएको कर्फ्युलाई स्थानीय प्रशासनले स्थितिको संवेदनशीलतालाई ध्यानमा राख्दै थप ५ घण्टा विस्तार गरेको हो । धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई पक्षबीच उत्पन्न विवाद र तनावका कारण कर्फ्यु  लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार नगरको शान्ति सुरक्षा कायम राख्न र थप अप्रिय घटना हुन नदिन यो निर्णय लिइएको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गर्नुभएको आदेशानुसार वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रहरूलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जसअन्तर्गत पूर्वमा बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको सीमाभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस वा प्रदर्शन गर्न पूर्णतः रोक लगाइएको छ ।

प्रशासनले आम नागरिकलाई कर्फ्युको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन विशेष आग्रह गरेको छ । यदि कुनै पनि आपत्कालीन परिस्थितिमा बाहिर निस्कनै परेमा नजिकैको सुरक्षाकर्मीसँग समन्वय गर्न वा प्रहरीको १०-० नम्बरमा सम्पर्क राख्न सूचित गरिएको छ ।

विगत दुई दिनदेखि दुई समुदायबीचको असमझदारीका कारण वीरगञ्जको जनजीवन त्रसित र अशान्त बन्दै आएको छ । आइतबारदेखि सुरु भएको प्रदर्शन र तनावलाई नियन्त्रणमा लिन र नगरमा पुनः सामाजिक सद्भाव कायम गर्न स्थानीय प्रशासनले उच्च सतर्कता अपनाइरहेको छ ।

यसैबीच पर्साका राजनीतिक दलका प्रतिनिधिसहितको सर्वदलीय बैठकले वीरगञ्ज महानगरमा देखिएको सामाजिक र धार्मिक आस्थासँग जोडिएको विषयलाई सामाजिक सद्भाव कायम गरेर अघि बढ्नुपर्ने जोड दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर