ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउने ट्रम्पको आह्वानको सर्वत्र निन्दा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउन गरेको सार्वजनिक आह्वानको सोमबार अन्तर्राष्ट्रिय स्तरमा तीव्र निन्दा भएको छ। भेनेजुएलामा वासिङ्टनको सैन्य हस्तक्षेप र त्यसलगत्तै खनिजको धनी मानिने आर्कटिक क्षेत्र ग्रिनल्याण्डमा ट्रम्पको आँखा परेपछि विश्व समुदाय सशङ्कित बनेको हो।
सुरक्षाको बहाना र ट्रम्पको समयसीमा आइतबार राति एयर फोर्स वानमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले राष्ट्रिय सुरक्षाको दृष्टिकोणले अमेरिकालाई ग्रिनल्याण्ड चाहिएको दाबी गरे। डेनमार्कले यस क्षेत्रलाई सम्हाल्न नसक्ने टिप्पणी गर्दै उनले अबको २० दिनदेखि दुई महिनाभित्र यसबारे ठोस पहल गर्ने बताए। रुस र अमेरिकाबीच क्षेप्यास्त्र प्रहारका लागि सबैभन्दा छोटो मार्गमा पर्ने ग्रिनल्याण्डमा अमेरिकाले पहिले नै सैन्य आधार बनाइसकेको छ।
ग्रिनल्याण्ड र डेनमार्कको कडा जवाफ ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले सामाजिक सञ्जालमार्फत ट्रम्पको दबाबलाई ठाडो अस्वीकार गरे। उनले “अब अति भयो” भन्दै विलयको कुनै कल्पना नगर्न चेतावनी दिए। यस्तै, डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले पनि अमेरिकालाई आफ्नो परम्परागत सहयोगीलाई धम्की नदिन आग्रह गरिन्।
अन्तर्राष्ट्रिय समर्थन र चीनको आपत्ति युरोपेली सङ्घ (EU) ले आफ्ना सदस्यहरूको क्षेत्रीय अखण्डताको रक्षा गर्ने प्रतिबद्धता जनाउँदै डेनमार्कको समर्थन गरेको छ। बेलायती प्रधानमन्त्री केइर स्टार्मर तथा फिनल्याण्ड, स्वीडेन र नर्वेका नेताहरूले ग्रिनल्याण्डको भविष्य डेनमार्क र त्यहाँका जनताले मात्र तय गर्ने बताए। यता चीनले पनि अमेरिकालाई ‘चिनियाँ धम्की’को बहाना बनाएर व्यक्तिगत फाइदा नलिन चेतावनी दिएको छ।
भेनेजुएलाको प्रभाव भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई हिरासतमा लिएर त्यहाँको तेल भण्डारमाथि कब्जा जमाउने ट्रम्पको घोषणाले युरोपेली नेताहरू चकित भएका छन्। ट्रम्पले ग्रिनल्याण्डको विषयमा पनि यस्तै कठोर रणनीति अपनाउन सक्ने सङ्केत गरेपछि अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ दरार पैदा भएको छ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठक
संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले भेनेजुएलामा अमेरिकाले गरेको आक्रमणप्रत चिन्ता व्यक्त गरेको छ। भेनेजुएलाको वर्तमान अवस्थाबारे सोमबार संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको हो। बैठकमा संयुक्त राष्ट्र संघका उपमहासचिव रोजमेरी डिकार्लोले महासचिव एन्टोनियो गुटेरेसको विज्ञप्ति पढेर सुनाइन्।
त्यसमा गुटेरेसले ‘भेनेजुएलामा अमेरिकी कारबाहीले अन्तर्राष्ट्रिय कानुनको मापदण्ड पालना नगरेकोप्रति गहिरो चिन्ता’ व्यक्त गरेका छन्। गुटेरेसको विज्ञप्ति पढ्दै रोजमेरी डिकार्लोले अन्तर्राष्ट्रिय सम्बन्धका लागि अमेरिकी सैन्य कारबाहीले स्थापित गर्न सक्ने नजिरबारे चिन्ता व्यक्त गरिन्।
उनले भनिन्, ‘भेनेजुएलाको अवस्था गम्भीर छ, तर अझै पनि ठूलो द्वन्द्व रोक्न सकिन्छ।’ यसैबीच रुसका प्रतिनिधिले निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसको तत्काल रिहाइको माग गरे। अमेरिकी सेनाले शनिबार भेनेजुएलाको राजधानी काराकासमा हमला गरी राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई अमेरिका लगेको छ। उनीहरूविरुद्ध लागुऔषध तस्करीको आरोपमा न्युयोर्क अदालतमा मुद्दा चलाइएको छ।
