काठमाडौंको तापक्रम ३.० डिग्री, यस वर्षकै चिसो महसुस
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो बढेको जनाएको छ । काठमाडौं उपत्यकामा यस वर्षकै चिसो महसुस भएको छ ।
जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार सोमबार बिहान कीर्तिपुरको तापक्रम ३.० डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै ललितपुर खुमलटारको २.८, भक्तपुर नगरकोटमा २.८, सिन्धुपाल्चोक चौताराको ५.५ डिग्री सेल्सियस मापन भएको छ ।
लुक्ला विमानस्थलको तापक्रम माइनस ०.५ डिग्री सेल्सियस रहेको छ भने जुम्ला विमानस्थलको तापक्रम माइनस ५.९, हुम्ला सिमकोट विमानस्थलको तापक्रम माइनस ५.१ डिग्री सेल्सियस रहेको छ ।
देशभर पश्चिमी वायूको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ।
दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु-कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। राति तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
