समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहित मतपत्र छापिने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहित मतपत्र छापिने भएको छ। आयोगले शुक्रबार आयोजना गरेका पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिएको हो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराएका थिए । तीमध्ये ६४ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची पेश गरेको उहाँले जानकारी दिए । बन्दसूची पेश गर्ने दलमध्ये ५४ वटा दलले आ–आफ्नै निर्वाचन चिह्न प्रयोग गरी चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् भने बाँकी १० वटा दलले विभिन्न क्लस्टरमा रही चार वटा साझा निर्वाचन चिह्नमार्फत निर्वाचनमा भाग लिने गरी बन्दसूची पेश गरेका छन् ।

उनले यसअघि बन्दसूची पेश हुनुअघि नै मतपत्र छपाइको काम गरिएको भएकोले सबै दलका चुनाव चिह्न समेटेर मतपत्र छापिने बताए । तर यसपटक भने समानुपातिक बन्दसूची पेश गरेका दलको चुनाव चिह्न मात्रै राखेर मतपत्रको छपाई गरिने उनले जानकारी दिए । उनका अनुसार हालसम्मको विवरणअनुसार समानुपातिकतर्फ प्रयोग हुने निर्वाचन चिह्नको संख्या ५८ रहने निश्चित भएको छ । आयोगले बन्दसूचीको रुजु प्रक्रिया जारी राखेकाले कुनै दलको सूची अस्वीकृत भएमा सो संख्या घट्नसक्ने उनले बताए ।

उनले बन्दसूचीमा समानुपातिक क्लष्टर नमिलेको अवस्था र बन्दसूचीमा भएको उम्मेदवारले नाम फिर्ता लिन चाहेको बेलामा मात्रै बन्दसूचीमा रहेका नाम परिवर्तन गर्न सकिने बताए । अन्यथा नाम परिवर्तन गर्न नमिल्ने उनको भनाइ छ । अन्तिम सूची प्रकाशित भएपछि भने केही गर्न नमिल्ने उनले जानकारी दिए ।

मतदाता नामावली छपाइ सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली छपाइ गर्ने कार्य सुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार शुक्रबारदेखि सो कार्य सुरु भएको हो । उनले आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले  आयोग परिसरमा मतदाता नामावलीको छपाइ कार्यको शुभारम्भ गरेको जानकारी दिए ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात् फरक परिस्थितिमा गठन भएको सरकारले भदौ २७ गते राति  फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तय गरेको हो। आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरेको कार्यतालिका अनुसार कार्यक्रम अघि बढाउँदै आएको छ । यसैगरी, राष्ट्रियसभा सदस्य निर्वाचनको मिति २०८२ माघ ११ गते तय भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर