पुरानो सोच, पुरानो तरिका र पुरानै व्याख्याले अब चल्नेवाला छैन : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका सवालमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताएकी छन् । नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँग भएको भेटमा प्रधानमन्त्री कार्कीले उक्त धारणा व्यक्त गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको निर्वाचनमा ११४ दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै विचारको विविधता लोकतन्त्रको सुन्दर पक्ष भए पनि राष्ट्रिय हित र निर्वाचनजस्ता विषयमा सबै एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याइन् ।

‘चुनावमा भाग लिन ११४ दल दर्ता भएका छन्। फरक विचार भएर नै यति धेरै दल दर्ता भएका होलान्,’ उनले भनिन्, ‘विचारमा विविधता हुनु लोकतन्त्रको सुन्दर पक्ष हो। तर यति हुँदाहुँदै पनि राष्ट्रिय हितका निम्ति देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ।’

‘हतियार र कैदी धेरै हदसम्म फिर्ता भइसकेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराइसकिएको छ’, उनले भनिन्, ‘निर्वाचनका लागि छुट्टै प्रहरी भर्ती प्रक्रिया पनि अघि बढेको छ । ठूलो प्राकृतिक विपत्ति नआए फागुन २१ गतेको चुनाव कुनै हालतमा सर्दैन।’

‘देशै तहसनहस हुँदा पनि नचेत्ने प्रवृत्ति अनौठो छ,’ उनले भनिन्, ‘बाहिरका तत्वलाई दोष दिने गरिन्छ, तर ती तत्वलाई खेल्ने ठाउँ कसले बनायो भन्नेबारे आत्म समीक्षा गर्न चाहिँ हामी चुक्छौँ।’

‘पुरानो सोच, पुरानो तरिका र पुरानै व्याख्याले अब चल्नेवाला छैन। हामी सुध्रिन र सच्चिन जरुरी छ,’ उनले स्पष्ट पारेकी छन् । भेटका क्रममा नागरिक बचाउ दल, नेपालका अध्यक्ष माधव कल्पितले प्रधानमन्त्री कार्कीसमक्ष पाँच सूत्रीय ज्ञापनपत्र पनि बुझाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर