निर्वाचनमा जुट्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमा जुट्न प्रमुख तीन राजनीतिक दलको शीर्ष नेतृत्वलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज मङ्गलबार अपरान्ह प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा राष्ट्रपतिले उक्त आग्रह गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ । “देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषणा भएको हो, यो गाम्भिर्यतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो”, राष्ट्रपति पौडेलले भनेका छन् ।

राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनुपर्नेमा विशेष जोड दिएको थियो ।

यसैबीच प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति, ओली, देउवा र प्रचण्डसँगको बैठकपछि बाहिरिएपछि राष्ट्रपति पौडेल र तीन दलका नेताहरू पुनः बैठकमा बसेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर