लेखकलाई बयानका लागि पत्र, ओलीलाई पनि पत्र काट्ने तयारी
काठमाडौं । जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । लेखकलाई आज मंगलबार पत्र काटिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने पत्र काट्न बाँकी रहेको उनको भनाइ छ ।
भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका पूर्व महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमण रोक्का लगाउने र आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने निर्णय गरेको छ ।
सचिवालयको तर्फबाट आज उपसचिव कमल प्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिमार्फत यो कुरा जानकारी गराईएको छ । आयोगले तीनै जनासँग यसअघि नै बयान लिसकेको छ ।
