भारत-बंगलादेशबीच कूटनीतिक कार्यालय, भिसा र कन्सुलर सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं ।  बंगलादेशमा एक विद्यार्थी नेता र हिन्दु समुदायका युवकको हत्या भएपछि बंगलादेश र भारतबीचको कूटनीतिक सम्बन्धमा चिसोपन देखिएको छ। पछिल्ला घटनाक्रमसँगै भारतस्थित बंगलादेशका कूटनीतिक कार्यालयहरूमा भिसा तथा कन्सुलर सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।

भारतस्थित बंगलादेश उच्चायोगको मुख्य प्रवेशद्वारमा अर्को सूचना जारी नभएसम्मका लागि सबै कन्सुलर तथा भिसा सेवा स्थगन गरिएको जानकारी टाँसिएको छ। सुरक्षा अवस्था प्रतिकूल बनेको जनाउँदै यस्तो निर्णय लिइएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

बंगलादेशमा गत बिहीबार राति (पुस ३ गते) प्रदर्शनका क्रममा हिन्दु समुदायका युवक दिपु चन्द्र दासको कुटपिट गरी हत्या गरिएको थियो। सो घटनापछि देशभित्र र बाहिर व्यापक प्रतिक्रिया देखिएको छ। उक्त हिंसा, भारतमा शरण लिइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनासँग जोडिएर थप संवेदनशील बनेको विश्लेषण गरिएको छ।

यसैबीच, गत वर्ष शेख हसिनाको सत्ता अन्त्य गराउने विद्यार्थी आन्दोलनका प्रमुख नेतामध्ये एक सरिफ उस्मान हादीको हालै हत्या भएपछि बंगलादेशमा पुनः हिंसात्मक गतिविधि चर्किएको हो। त्यसै क्रममा आक्रोशित भीडले हिन्दु युवक दासको पनि हत्या गरेको बताइएको छ।

उक्त घटनाको विरोधमा भारतको राजधानी दिल्लीस्थित बंगलादेश उच्चायोग अगाडि गत शनिबार राति प्रदर्शनसमेत भएको थियो। त्यसपछि सम्भावित असुरक्षा जोखिमलाई ध्यानमा राख्दै बंगलादेशले भारतमा सञ्चालनमा रहेका आफ्ना सबै भिसा तथा कन्सुलर सेवा स्थगन गर्ने निर्णय गरेको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर