काठमाडौं उपत्यकाभित्र १ हजार ६ सय रोपनी जग्गा रोक्का
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौं उपत्यकाभित्र १ हजार ६ सय रोपनी जग्गा रोक्का राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हिजो आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीहरुले काठमाडौं उपत्यकाभित्र मात्र १ हजार ६ सय रोपनी जग्गा रोक्का राखेको जानकारी गराएको थियो।
प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिएकी थिइन् । अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्व सचिव भूपाल बराल र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसमेतको उपस्थितिमा प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान गर्ने निकायहरुबाट ब्रिफिङ पनि लिएकी थिइन्।
ती निकायका प्रमुखहरुले सम्पत्ति शुद्धीकरण कसुरमा समयमै अनुसन्धान तथा अभियोगको प्रक्रियामा लैजाने, अपराधबाट आर्जित सम्पत्ति रोक्का र जफत गर्ने विषयमा भएको प्रगतिबारे जानकारी गराएको थियो।
