काठमाडौंको तापक्रम अचानक २ डिग्री सेल्सियस बढ्यो !
काठमाडौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आइतबारभन्दा आज सोमबार झन्डै २ डिग्री सेल्सियस बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे गरिएको सुरुवाती मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस देखिएको हो। आइतबार भने यो समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे ५.५ कायम भएको थियो।
आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान ५:४५ बजेको भन्दा घट्ने सम्भावना हुन्छ। मौसम महाशाखाका मौसमविद्का अनुसार आज काठमाडौँ उपत्यकासहित देशका अन्य स्थानमा पनि आइतबारभन्दा न्यूनतम तापक्रम केही बढेको छ। राति आकाशमा बादल लागेकाले न्यूनतम तापक्रम बढेको हो।
यसैबीच देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागमा तापक्रम हल्का घट्ने सम्भावना रहेको छ। साथै हुस्सु र कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएको छ।
