नोबेल मेडिकल कलेजको पाँचौं तलाबाट खसेका डाक्टरको मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको पाँचौं तलाबाट खसेर एक इन्टर्न डाक्टरको ज्यान गएको छ । सोही मेडिकल कलेजमा कार्यरत एक इन्टर्न डाक्टरको अस्पताल भवनबाट खसेर मृत्यु भएको हो। मृतक सप्तरीको राजविराज नगरपालिका–९ का २६ वर्षीय अमित यादव रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार यादव आज बिहान करिब ६ बजेतिर अस्पतालको मुख्य भवनको पाँचौँ तलाबाट खसेका थिए । उनी अस्पतालको मुख्य गेट अगाडि गम्भीर अवस्थामा फेला परेका थिए । टाउकोमा गम्भीर चोट लागेका यादवलाई तत्कालै अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।
परिवारका अनुसार यादव केही समयदेखि मानसिक समस्याको उपचार गराइरहेका थिए र औषधि सेवन गरिरहेका थिए । अस्पताल प्रशासनले पनि उनीमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको जानकारी दिएको छ ।
