एमालेमा आज बुधबार बिहान ८ बजेदेखि मतदान हुँदै
काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज अबेरबाट सुरु हुने भनिएको मतदान आज विहान ८ बजे सुरु गर्ने गरी कार्यतालिका संशोधन गरिएको छ ।
विद्युतीय मतदान उपकरणका उम्मेदवारहरुको नामावली अपलोड गर्ने काम नसकिएपछि निर्वाचन आयोगले भोलि विहान ८ बजे मतदान गर्ने गरी मतदानको समय सारेको हो । आज बिहान ८ बजे मतदान स्थलमा मतदानका लागि उत्साहपूर्वक सहभागी हुन नेताहरुले आग्रह गरेसँगै मतदानका लागि लामबद्ध भएका प्रतिनिधिहरु अधिवेशन स्थलबाट हिजो फर्किएका थिए ।
रातिको समयमा मतदान प्रक्रिया सुरु गर्दा मतदाताहरुलाई असजिलो हुने हुँदा विहानबाट मात्र मतदान सुरु गर्ने निर्णय निर्वाचन आयोगले गरेको हो । यसका लागि आयोगका पदाधिकारीहरुले अध्यक्ष पदका दुबै उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलसँग छलफल गरेका थिए । एमालेको यो महाधिवेशनमा वर्तमान अध्यक्ष ओली र बरिष्ठ उपाध्यक्ष पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन्।
