सिड्नी गोलीकाण्डमा आक्रमणकारीको बन्दुक खोस्ने साहसिक व्यक्ति को हुन् ?
काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा भएको आक्रमणका क्रममा आक्रमणकारीहरूमध्ये एकको बन्दुक खोस्ने ४३ वर्षीय अहमद अल अहमद भएको पुष्टि भएको छ । अहमद अल अहमदको अवस्था स्थिर रहेको छ ।
यो जानकारी उनको परिवारले दिएको हो । आक्रमणका क्रममा अहमद अल अहमदलाई काँध र हातमा गोली लागेको थियो । उनका पिता मोहम्मद फतह अल अहमदले बीबीसी न्युज अरबीलाई बताएअनुसार, अहमद संयोगवश घटनास्थल नजिकै थिए । उनी एक साथीसँग कफी पिउन गएका थिए, त्यही बेला उनले ती सबै घटना देखेका थिए ।
दुई सन्तानका पिता अहमदले आइतबार हनुक्का समारोहका क्रममा भएको गोलीकाण्डमा हस्तक्षेप गरेपछि १५ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएको घटनामा उनलाई नायक (हिरो) का रूपमा प्रशंसा गरिएको छ । परिवारले अहमदप्रति असिम गर्व महसुस गरेको बताएको छ । उनी अहिले स्थिर अवस्थामा छन्, काँध र हातमा लागेको चोटका लागि थप उपचारको पर्खाइमा छन् ।
मानिसहरूमाथि आक्रमण भइरहेको देखेपछि मानिसहरुलाई बचाउन छोरा नहिचकिचाएको बुबाले बताएका छन् । उनका पिताले भने, “अहमद आफ्नो भावना, विवेक र मानवताबाट प्रेरित भएर अगाडि बढे, बन्दुकधारीलाई रोके र उसको हतियार खोसे ।”
बीबीसीले प्रमाणित गरेको भिडियो फुटेजमा ४३ वर्षीय अहमद अल अहमद बन्दुकधारीतर्फ दौडँदै गएर उसको हतियार खोसेको देखिन्छ, र त्यसपछि बन्दुक उसैतर्फ तेर्साएर उसलाई पछि हट्न बाध्य पारेका थिए । अहमदलाई पनि गोली लागेको हुँदा अहिले उपचाररत रहेको परिवारले बताएका छन् ।
अधिकारीहरू र व्यवसायीहरूद्वारा प्रशंसा
न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले सोमबार ढिलो गरी अहमदसँगको अस्पतालमा भेटेको आफ्नो तस्बिर साझा गर्दै उनलाई वास्तविक जीवनको नायक भनेर चित्रण गरेका थिए । उनले फेसबुकमा पोष्ट गर्दै भने, “उनको अविश्वसनीय बहादुरीले व्यक्तिगत रूपमा ठूलो जोखिम मोलेर एक आतङ्ककारीलाई निशस्त्र पार्दा निःसन्देह अनगिन्ती जीवनहरू बचायो ।”
उनले अहमदसँग समय बिताउन पाउनु सम्मानको कुरा भएको र न्यू साउथ वेल्सभरिका मानिसहरूको धन्यवाद उनीसम्म पुर्याएको बताए । उनले भने, “अहमदको निस्वार्थ साहस नभएको भए थप ज्यान जान्थ्यो भन्नेमा कुनै शङ्का छैन ।”
यसैबीच, एक अमेरिकी अर्बपतिले अहमदलाई ‘बहादुर नायक’ भन्दै ९९ हजार ९९९ डलर दान दिएका छन् । पर्शिङ स्क्वायर क्यापिटल म्यानेजमेन्टका सीईओ विलियम एकम्यानले अहमदका लागि खोलिएको ‘गो फन्ड मी’ मा सबैभन्दा ठूलो दान दिएका हुन्, जसले सोमबार ढिलो रातसम्ममा १ मिलियन अमेरिकी डलरभन्दा बढी सङ्कलन गरिसकेको थियो ।
अहमदको हस्तक्षेपको फुटेज अनलाइनमा व्यापक रूपमा साझा गरिएको थियो । फुटेजमा एक बन्दुकधारी सानो पैदल पुल नजिकैको पामको रूख पछाडि उभिएको, निशाना लगाइरहेको र नदेखिने लक्ष्यतर्फ गोली चलाइरहेको देखिन्छ ।
पार्क गरिएको कार पछाडि लुकेका अहमद हमलाकारीतर्फ उफ्रिएर उसलाई पक्रन खोजेको देखिन्छ । उनी हमलाकारीबाट बन्दुक खोस्न सफल हुन्छन्, उसलाई भुइँमा धकेल्छन् र बन्दुक उसैतर्फ तेर्साउँछन् । त्यसपछि हमलाकारी पुलतर्फ पछि हट्न थाल्छ ।
अहमदले हतियार तल झार्छन् र एक हात हावामा उठाउँछन्, प्रहरीलाई आफू आक्रमणकारी नभएको देखाउन खोजेको देखिन्छ । त्यही आक्रमणकारीले पछि पुलमा अर्को हतियार टिपेर फेरि गोली चलाएको देखिन्छ । अर्को बन्दुकधारीले पनि पुलबाट गोली चलाइरहेको देखिन्छ । उनीहरूले कसलाई वा केलाई निशाना बनाइरहेका छन् भन्ने स्पष्ट छैन ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजीले आइतबार भनेका थिए, “हामीले आज अष्ट्रेलियालीहरूलाई अरूलाई मद्दत गर्न खतरातर्फ दौडिएको देखेका छौं । यी अष्ट्रेलियालीहरू नायक हुन्, र उनीहरूको बहादुरीले ज्यान जोगाएको छ ।” ह्वाइट हाउस क्रिसमस रिसेप्शनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अहमदको प्रशंसा गर्दै उनीप्रति ठूलो सम्मान रहेको बताए । उनले भने, “वास्तवमा एकजना धेरै, धेरै बहादुर व्यक्ति थिए, जो अगाडि बढेर आक्रमणकारीहरूमध्ये एकमाथि जाइलागे र धेरै ज्यान जोगाए ।”
प्रहरीका अनुसार, यस घटनामा संलग्न दुई आक्रमणकारी ५० र २४ वर्षका बाबु र छोरा थिए । स्थानीय सञ्चारमाध्यमले उनीहरूको नाम साजिद अकरम र छोरा नवीद अकरम भनेर खुलाएका छन् । साजिद अकरमको घटनास्थलमै मृत्यु भएको थियो भने उनका छोरा नवीद अस्पतालमा गम्भीर अवस्थामा उपचाररत छन् ।
