ओलीलाई टक्कर दिन ईश्वर पोखरेल बने उम्मेदवार

काठमाडौं । केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्षका लागि आफ्नो उम्मेदवार दर्ता गराएका छन् । एमालेको ११औं महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रियामा ओलीले अध्यक्षको उम्मेदवारी दर्ता गराएका हुन् । एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।

सो क्रममा पोखरेलले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ  पोखरेलसँग अध्यक्षमा केपी शर्मा ओलीले प्रतिस्पर्धा गर्दैछन् । उनीहरू दुवै जना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

सोमवार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउन आफू अध्यक्ष पदको उम्मेदवार बनेको दाबी गरे ।  पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । उनले पार्टीलाई थप व्यवस्थित र पार्टी नेतृत्व अपडेट गर्नुपर्ने आवश्यकता रहेको व्यहोरा पार्टी कार्यकर्तालाई आग्रह गरे ।

पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न सक्तैन : योगेश भट्टराई

नेता योगेश भट्टराईले जेनजी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताएका छन् । सोमवार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको अवस्थामा एमाले जनतातिर नभई नेतातिर फर्किएको उल्लेख गर्दै जनतातिर फर्काउनुपर्ने आवश्यकता रहेको पनि बताए ।

उनले पार्टीलाई जनतातिर फर्काउँदै पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन आफूहरु प्रतिष्पर्धामा रहेको दाबी समेत गरे । महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वले राज्यसत्ताको समेत नेतृत्व गर्नेगरी आफूहरु आन्तरिक प्रतिष्पर्धामा रहेको उनको भनाइ छ ।

प्रदीप ज्ञवालीको असन्तुष्टि

यसैबीच महासचिव पदमा दाबी गर्दै आएका नेता प्रदीप ज्ञवालीले उपाध्यक्ष पदमा उम्मेदवार बन्न अनिच्छा देखाएका छन् । ओली समूहले उपाध्यक्षको सूचीमा ज्ञवालीको नाम सार्वजनिक गरेपछि उनले असन्तुष्टि जनाएको बताइएको छ । ओली पक्षबाट महासचिवमा शंकर पोखरेल उठ्ने तयारी छ।

ज्ञवालीले यसअघि नै अध्यक्ष ओलीसँग आफू महासचिव पदमै उम्मेदवार बन्ने स्पष्ट अडान राखेका थिए । ओली समूहले उपाध्यक्षका लागि अन्य नेताहरूको नाम टुङ्ग्याउँदै गर्दा ज्ञवालीको नाम पनि सूचीमा उपाध्यक्ष भनेर राखिएको थियो ।

अटेनन् लुम्बिनीका सूर्य थापा र रामकुमारी झाँक्री

पार्टी पोलिटब्यूरो सदस्य तथा प्युठानका निवर्तमान सांसद सूर्य थापा र रामकुमारी झाँक्री ओली समूहको  पदाधिकारीमा अट्न सकेनन । दुवै युवा नेता ओली टीमबाट पदाधिकारीको उम्मेदवार बन्ने चर्चा थियो । गुल्मीकी नेतृ झाँक्री हालै नेकपा एकीकृत समाजवादी छाडेर पुरानै घर एमाले फर्किएकी थिइन् ।

कान्छी उम्मेदवार अस्मिता थापा

ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले केपी ओली प्यानलबाट उम्मेदवारी दर्ता गराएकी छन् ।  २९ वर्षीया थापा खुला केन्द्रीय सदस्यको महिला क्लस्टरमा उम्मेदवारी दर्ता गराएकी छन् । थापा  एमालेको ११ औं महाधिवेशनमा जेनजी पुस्ताबाट सम्भवतः एकमात्र उम्मेदवार बनेकी छन् । कोशी प्रदेशका नेताहरुले उनलाई केन्द्रीय सदस्यमा प्रस्ताव गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर