मतपत्रमा राजनीतिक दलका १ सय ७ चिह्न
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ ५० प्रतिशत महिला सहभागिता गराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । समानुपातिकतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आयोगले मंगलबारसम्म दलका तर्फबाट निवेदन दिन आग्रह गरेको छ । आगामी १३ र १४ पुसमा समानुपातिकतर्फका उम्मेदवारको नामावली पेस गर्दा ५० प्रतिशत महिलासहित पेस गर्न र बन्द सूचीमा रहेको नामावली दल स्वयंले सार्वजनिक गर्न निर्देशन दिइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् ।
स्तै, २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १ सय २ राजनीतिक दलले आफ्नो एकल निर्वाचन चिह्नमा निर्वाचन लड्ने भएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गरेका १ सय २० दलमध्ये १ सय २ दलले आफ्ना प्रस्तावित चिह्नमै निर्वाचन लड्ने स्वीकृति निर्वाचन आयोगबाट पाएका छन् ।
आयोगमा निवेदन गरेका मध्ये १२ वटा राजनीतिक दलले भने एकल चिह्नलाई संयुक्त रूपमा प्रयोग गरी निर्वाचनमा जाने स्वीकृति पाएका हुन् । १२ वटा राजनीतिक दलले भने उनीहरूले निवेदन गरेअनुसार नै पाँचवटा निर्वाचन चिह्न प्रयोग गरी निर्वाचनमा भाग लिने स्वीकृति दिइएको आयोगका प्रवक्ता भट्टराईले बताएका छन् ।
आयोगले यसपटक जाँतोदेखि लिएर मान्छेले बोकेको ढुंगो, बुलडोजर, अञ्जुलीमा लिएको माटो, गैंतीलगायतका मौलिक निर्वाचन चिह्न पनि दलहरूलाई दिएको छ । एकल निर्वाचन चिह्न र संयुक्त निर्वाचन चिह्न प्रयोग गरी १ सय १४ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार प्रतिनिधिसभा निर्वाचनमा १ सय १४ वटा दल १ सय ७ वटा चिह्नमार्फत निर्वाचनमा सहभागी हुनेछन् ।
‘दल दर्ताका लागि अन्तिम मिति निर्धारण गरिएको अन्तिम मितिसम्म हामीकहाँ आएका निवेदनका आधारमा एकल निर्वाचन चिह्न लिएर निर्वाचनमा जानका लागि प्रस्ताव भएअनुसार नै निवेदन स्वीकृति भएको छ, संयुक्त निर्वाचन चिह्नमा प्रस्ताव गरेका १२ वटा दलमध्ये कुनैमा दुई दल कुनैमा तीन दल मिलेर जाने प्रस्ताव गरिएको छ,’ प्रवक्ता भट्टराईले भने ।
