जेनजी अगुवा मिराज, रविकिरणलगायत सिंहदरवार छिर्न पाएनन्, गेटमै मागपत्र टाँसे
काठमाडौं । जेनजी आन्दोलनका अगुवा भनिएका मिराज ढुंगाना, रविकिरण हमाललगायतका प्रतिनिधिमण्डल प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन सिंहदरवार छिर्न नपाएपछि उनीहरूले आफ्नो माग पत्र सिंहदरवारको दक्षिण प्रवेशद्वारमा टाँसेर फर्केका छन् ।
लाखौँ युवा देशभरि सडकमा उत्रिएर गरिएको विद्रोह फगत ०८४ सालको निर्वाचन ०८२ सालमा गर्नको लागि मात्र नभएको उनीहरूको भनाइ छ । निर्वाचन आयोगमा दर्ता भएका दल, विघटित प्रतिनिधिसभाका सांसद तथा मन्त्रीहरूको चल-अचल सम्पत्ति रोक्का गर्न र हालसम्म उच्च पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग बनाउन पनि उनीहरूको माग छ ।
जेन(जीका विभिन्न २१ समूहले कार्की सरकारले आफूहरूको माग पूरा गर्न नसक्ने र घाइते तथा शहीदको सपना साकार पार्न सम्भव नभएको निष्कर्ष निकालेका छन् । उनीहरूले माग पूरा गर्न ७ दिनको अल्टिमेटम दिँदै बेवास्ता गरे कार्की सरकार गठनमा आफूले गरेका गल्तीको माफी माग्दै पुनस् संघर्षमा जाने चेतावनी दिएका छन् । विद्रोहमा होमिएका युवाविरुद्ध कसिएर षड्यन्त्र गरिरहेको देखिएको भन्दै उनीहरूले विभिन्न माग अघि सारेका छन् ।
यस्तो छ उनीहरू माग पत्र
१. हाल सम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर ।
२. स्थिर सरकारका लागी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर ।
३. विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर ।
४. जेन – जी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गर ।
५. सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गर ।
६. २३ गते शान्तिपूर्ण आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर ।
२४ गतेको घटनालाई निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर ।
७. जेन-जी आन्दोलन लगायतका राजनीतिक प्रतिशोधका आधारमा चलाएका मुद्दाहरू फिर्ता गर र विधिको शासन कायम गर ।
८. प्रादेशिक खर्चले देशलाई आर्थिक रूपमा धेरै पछाडि पुऱ्याएको छ, त्यसैले प्रदेश सरकारका अनावश्यक खर्च व्यापक रूपमा घटाउन प्रदेश सरकारको पुनर्संरचना गर।
९. यी कुराहरु संबिधान पुनरावलोकन र सुधार नगरी नहुने भएकाले तत्काल जनभावना बुझी संबिधान सुधार गरी मात्र अर्थपूर्ण चुनावतर्फ लाग ।
