झडपपछि सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यू आदेश जारी
काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यू आदेश जारी गरको हो ।
अहिले मध्यह्न साढे १२ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ । सिमरा विमानस्थल आसपासका क्षेत्रमा ‘जेनजी’ युवाहरूको प्रदर्शन तथा राजनीतिक दल आवद्ध समूहरूको झडप भइरहेकाले सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारकी कार्यालयलगायत निजी सम्पत्ति क्षति हुन नदिनुका साथै परिस्थिति थप विग्रन नदिन कर्फ्यू लगाइएको सूचनामा उल्लेख छ ।
सो अवधिमा उक्त क्षेत्रमा कसैले आवत-जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जानकारी दिएको छ ।
सिमरा विमानस्थलको मुख्य गेट तोडफोड
बारामा रहेको सिमरा विमानस्थलको मुख्य गेट आक्रोशित समूहले तोडफोड गरेको छ । नेकपा एमालेका कार्यकर्तासँग झडप भएपछि केही युवाहरू विमानस्थलको प्रवेशद्वारसम्म पुगेका थिए र बाहिरबाट धकेल्न थालेपछि फलामको गेट भाँचिएको हो । गेट भत्किएपछि केही युवाहरू करिब केही क्षणका लागि विमानस्थल भित्र प्रवेश गरेका थिए ।
एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतसहितको टोली बारा जाँदै थियो
युवा संघ नेपालको कार्यक्रमका लागि एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतसहितको टोली बारा जाँदै थियो । नेताहरू कार्यक्रम स्थलमा नपुग्दै सिमरा बजार क्षेत्रमा स्थानीय युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको थियो ।
सिमरामा एमाले नेता शंकर पोखरेल र महेश बस्नेत चढेको जहाज अवतरण गर्न नदिने भन्दै युवाहरू सडकमा उत्रिएपछि काठमाडौंबाट उड्न लागेको बुद्ध एयरको उडान रोकिएको छ।
एमाले कार्यकर्ता र जेनजीको झडपका कारण सिमरा विमानस्थल बन्द गरिएको छ। विमानस्थलको गेटमा बुधबार एमाले कार्यकर्ता र जेनजीबीच झडप भएपछि विमानस्थल बन्द गरिएको हो।
एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत काठमाडौंबाट सिमरा जाने तालिका रहेकामा उहाँहरुको स्वागतका लागि एमाले कार्यकर्ता विमानस्थलको गेटमा पुगेका थिए। बस्नेतको विरोध गर्दै जेनजी पनि पुगेपछि दुई पक्षबीच भएको झडपका कारण विमानस्थल बन्द गरिएको हो।
